विचार

युवा

लिजा भण्डारी
झापा, असोज ७ ।
‘यूवा’ शव्दलाई पछाडिबाट अगाडि पढ्ने हो भने ‘वायू’ हुन्छ । जसलाई हामी एक प्रकारको शक्तिको रुपमा पनि परिभाषित गर्न सक्दछौं । जसरी उदाहरणको लागि, वायुको सकारात्मक पक्षको रुपमा विद्युतीय उर्जा उत्पादन लिन सकिन्छ भने यसको नकारात्मक रुपमा आधी÷हुरी लाई लिन सकिन्छ । त्यसरी नै युवाका पनि सकारात्मक र नकारात्मक पक्षहरु रहेका छन् । किशोर अवस्था पार गरेपछि आउने यो अवस्था, सकारात्मक र नकारात्मक शक्तिको रुप हो । जसलाई बुझेर सही बाटोमा लागिए वा लाग्न प्रेरित गरिए समाज÷राज्यको परिवर्तन र विकासको सम्बाहक बन्न सक्छन् । यदि यो अवस्थामा सहि मार्गमा हिड्न वा हिड्न प्रेरित गरिएन भने यसले समाज र देशको लागि वाधा÷व्यवधान सिर्जना पनि गर्न सक्दछ ।

सामान्यतयः यो अवस्थालाई हामी तरल अवस्थाको रुपमा पनि बुझ्न सक्दछौ, यो अवस्थामा युवाहरु नयाँ कुरा सिक्न खोज्ने, साथी भाईहरुसँग बढि नजिक हुने आदि स्वभावको विकास भएको पाइन्छ। सामान्यतयः युवालाई वर्तमानको साझेदार र भविष्यको कर्णधारको रुपमा हेर्ने गरिन्छ । यस सन्दर्भमा कहिले काही हामी खरो उत्रन सकेका छौ भने कहिले काही अपेक्षा विपरितका गतिविधिहरुमा पनि संलग्न हुदै समग्र युवा पिढी र अभिभावकहरुको मन दुख्ने काम गरि रहेका हुन्छौं ।

युवालाई परिभाषित गर्ने सजिलो माध्यम भनेको उमेर समूह नै हो । राष्ट्रिय युवा नीति–२०६६ अनुसार “युवा भन्नाले १६ — ४० वर्षको उमेर समूहका महिला, पुरूष तथा तेस्रो लिङ्गीहरूलाई जनाउने छ” । राष्ट्रिय युवा नीतिको पृष्ठभूमिमा उल्लेख भए अनुसार, युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति हो । युवा वर्ग राज्यको अजस्र स्रोत र परिवर्तनको वाहक शक्ति पनि हो । युवाहरू आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवर्तनका संवाहक शक्ति हुन् । साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वासका कारण यो वर्ग राष्ट्रको प्रमुख धरोहरका रूपमा रहेको हुन्छ जसलाई राष्ट्र निर्माणको प्रमुख स्रोत समेत मानिन्छ ।

नेपालमा १६–४० वर्ष उमेर समूहको जनसंख्या कूल जनसंख्याको ३८.८५ रहेको छ । गुणात्मक र सङ्ख्यात्मक दुवै दृष्टिले युवा वर्ग राष्ट्रको मेरूदण्ड भएकोले युवाहरूको सर्वाङ्गीण विकास गरी उनीहरूको क्षमतालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउनु जरूरी भएको छ । माथिको परिभाषा र सन्दर्भलाई आधार मान्दा, युवा भनेको १६ देखि ४० वर्ष उमेर समूहलाई बुझिन्छ जोसँग आर्थिक, सामाजिक, संस्कृतिक र राजनीतिक उत्तरदायीत्वहरु रहेका हुन्छन् । साथै यो उमेर समूहमा जोस, जागर र इच्छा शक्ति रहेको हुन्छ । युवा वर्तमानको साझेदार र भविष्यको कर्णधार हुन ।

लाखौं युवाहरु स्वदेश तथा विदेशी भूमिमा पसिना बगाई रहेको अवस्थामा इलामेली युवाहरुको अहिलेको व्यवहारले म जस्ता युवालाई चिन्तित बनाएको छ ।अहिले नेपालका युवाहरु लागुपदार्थको कुलत, झै–झगडा, विभिन्न अपराध आदि असामाजिक गतिविधिहरुमा संग्लन हुनुले सबैलाई सोच्न बाध्य बनाएको छ । केहि युवाहरुको यस्तो व्यवहारले पुरै युवा जमातलाई पिरोलेको छ वा भनौ सबैमा प्रश्न चिन्ह खडा भएको छ । साथै यो समस्या हामी युवाको मात्र नभएर देशको र समाजको पनि हो । यस्ता समस्याहरुको कारण र कारक को हुन भन्नु भन्दा पनि यस्ता समस्याहरुको निराकरणका लागि कसरी अघि बढ्ने र क–कसको के भूमिका निर्वाह गर्ने भन्ने प्रश्न अहिले महत्वपूर्ण रहेको छ । समस्या समाधानका लागि युवा स्वयम्, अभिभावक, परिवार, समाज र राज्यको समन्वयात्मक भूमिका आवश्यक रहेको छ ।

हामी युवाहरुले पनि आफूलाई स्व–विवेकी, स्व–नियन्त्रित र अरुको कुरा सुन्ने बानीको विकास गरी आफूले आफैलाई चिन्ने प्रयास गर्नु पर्दछ । साथै आफुमा साकारात्मक सोचको विकास गरिनु जरुरी हुन्छ । यसमा अभिभावक र परिवारको पनि महत्वपूर्ण भूमिका रहन्छ । अभिभावक/परिवारले पनि युवाको भावना, विचार र व्यवहारलाई बुझि आवश्यक सल्लाह, सुझाव र उत्प्रेरणा दिई सकारात्मक सोच विकासमा मद्दत र निर्देशित गर्नु आवश्यक हुन्छ । सामाजले पनि युवालाई धारे हात लगाउने र उपेक्षा गर्ने भन्दा पनि उनीहरुलाई सिर्जनात्मक कार्यमा अगि बढ्न अवसर, सल्लाह÷सुझाव र उत्प्रेरण प्रदान गर्नु पर्दछ । यसो गर्न सके युवा, अभिभावक÷परिवार र समाज बीचको खाडल पुर्न मद्दत गर्दछ । जसले युवालाई सकारात्मक सोचको विकास गरी देश र समाजको लागि रचानात्मक क्रियाकलापहरुमा संलग्न हुन प्रोत्साहित गर्दछ ।

त्यस्तै भनिन्छ नि खाली दिमाग सैतानको घर भनेर, हामी युवाले पनि अध्ययन पछि बाँकी रहेको समयमा विभिन्न रचनात्मक क्रियाकलापहरुमा आफूलाई संलग्न गराए आफूमा नकारात्मक सोच र संगतको विकास हुनै पाउँदैन । युवाहरुको सन्दर्भमा कुरा गर्नु पर्दा, युवाहरुले आफ्नो फुर्सदको समयलाई विभिन्न युवाहरुको समूह, संगठन र संस्थाहरुमा संलग्न भई विभिन्न सामाजिक क्रियाकलापहरुमा आफूलाई समावेश गर्न सक्दछन् । जसले गर्दा उनीहरुको फुर्सदको समयको त सदुपयोग भयो भयो, उनीहरुको व्यक्तित्व विकास, अन्तरव्यक्ति सम्बन्ध विकास र निर्णय लिने क्षमता विकास गर्न सक्दछन् ।

साथै युवाहरुले आफ्नो प्रतिभा÷क्षमता अनुसार इन्टरनेट, सामाजिक सञ्जाल, ब्लग ,भ्लग आदि मार्फत आफ्ना कला, साहित्य, अनुभव, अनुभूतिहरुलाई उजागर गर्न सक्नु हुन्छ । जसले गर्दा आफ्नो फुर्सदको समयको सदुप्रयोग गरी आफ्नो ज्ञानको भण्डारलाई बढाउन सक्दछन् । यसका साथै युवाहरुको फुर्सदको समयलाई सदुप्रयोग गर्ने गतिलो माध्यम विभिन्न पुस्तक पसल, पुस्तकालयहरु हुन । जहाँ आफ्नो रुचि अनुसारका पुस्तक, पत्रपत्रिकाहरु अध्ययन गर्न सकिन्छ ।