अर्जुनधारा, जेठ २५ । झापाको अर्जुनधारा नगरपालिकाले कोरोना महामारीबाट पीडित बनेका विपन्न परिवारलाई राहत वितरण गर्ने तयारी गरेको छ ।
कोरोना संक्रमण भइ होम आइशोलेसनमा बसेका विपन्न परिवारलाई राहत वितरण गर्ने तयारी गरेको हो । कोरोना कहरका बेला संक्रमित भएर घरमै बस्नु परेको बेला मजदुरीसम्म गर्न नपाएका विपन्न परिवारलाई राहत उपलब्ध गराउन लागिएको हो ।
नगरको सीसीएमसीको सिफारिसमा बोर्ड बैठकले निर्णय गरेअनुसार पहिलो चरणमा प्रतिपरिवार २० केजी चामल, २ केजी दाल, डेढ लिटर खानेतेल र एक केजी नुन उपलब्ध गराइनेछ ।
नगरको आरआरटी टिमले छनोट गरेको विपन्न तथा कोरोना पीडित परिवारलाई कोभिड फोकल पर्सन मुकुन्द बस्नेतले जनप्रतिनिधिको रोहवरमा राहत वितरण गर्नेछन् ।
पहिलो चरणमा एक सय विपन्न परिवारका लागि खाद्यान्न वितरण गर्ने तयारी गरिएको फोकल पर्सन बस्नेतले जानकारी दिए ।
कोरोनाको दोस्रो लहरमा नगरका ६ सयको हाराहारीमा संक्रमित भइसकेका छन् भने डेढ दर्जनले ज्यान गुमाइसकेका छन् ।

