झापा, भदौ २६ । झापा अर्जुनधार नगरपालिकामा खाना पकाउने ग्याँसको सिलिण्डर फेर्ने क्रममा ग्याँस चुहिएर आगलागी हुँदा एउटै घरका तीनजना घाइते भएका छन् ।
अर्जुनधार – ७ स्थित पुष्पलाल मार्गमा शनिबार साँझ रोमनाथ खनालको घरमा नयाँ एलपी ग्याँसको सिलिण्डर फेर्ने क्रममा ग्याँस चुहावट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आगलागीमा परि घरधनी ४२ वर्षीय रोमनाथ खनाल, उहाँकी श्रीमती ३८ वर्षीया दुर्गा खनाल र १८ वर्षका छोरा पंकज खनाल घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए ।
शरीर जलेर घाइते भएका उनीहरूलाई उपचारका लागि विराटनगर स्थित नोवल मोडिकल कलेज लगिएको प्रहरीले जनाएको छ ।
घटनाको खवर सुन्न साथ इलाका प्रहरी कार्यालय विर्तामोडबाट प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यको कमाण्डमा १५, प्रहरी चौकी शनिश्चरेबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा ५ जनाको टोली घटनास्थल पुगेको थियो ।
विर्तामोड नगरपालिकाको वारुणयन्त्र, नेपाल प्रहरी र स्थानीयको सहयोगमा साँझ साढे ७ बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो । क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

