संघ \संस्था

‘सरी मम’को प्रदर्शनमा नेपाल जेसीजले सघाउने, निर्माण टिमसँग सम्झौता

बाहुण्डाँगी । सामाजिक कथामा बनेको फिल्म ‘सरी मम’को प्रदर्शनमा नेपाल जेसीजले सहकार्य गर्ने भएको छ । लागु औषध बिरुद्धको चेतनामुलक अभियानको रूपमा जेसीजले फिल्मलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा प्रदर्शनमा सघाउने गरि फिल्मको निर्माण टिमसँग सम्झौता गरेको हो । नेपाल जेसीजले देशभरीका १ सय ७४ शाखाहरूलाई लागुऔषध बिरुद्धको अभियानको रूपमा ‘सरी मम’लाई जोड्न सञ्चार गर्ने सहमती भएको हो । बिहिवार नेपाल जेसीजको सचिववालय थापाथलीमा नेपाल जेसीजका कार्यकारी प्रमुख प्रभाव श्रेष्ठ र फिल्मका कार्यकारी निर्माता विनोद लामा र सिनेटर खेम अधिकारीबिच सम्झौता भएको हो । फिल्मले लागुऔैषध र कुलतको विषयलाई उठान गरेको अधिकारीले बताए ।

राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा पछिल्लो समय दुर्व्यसनीका घटना बढिरहँदा आफ्नो फिल्ममार्फत कुलतमा फसेका युवायुवतीलाई लक्षित गरि चेतनामुलक सन्देश दिने उद्देश्यले नै फिल्म बनाएको लामाले बताए । फिल्मलाई देशका सातै प्रदेशमा प्रदर्शन गरिने निर्माण टिमले बताएको छ । फिल्मको कथा पनि लामाले नै लेखेका हुन् ।

यो फिल्ममा सरोज खनाल, सरिता लामिछाने, प्रभात पल, एलिश राई, आरवी कटुवाल, बिहान श्रेष्ठ, युनिशा बजगाइँ, रेजिना मगर, प्रेविल कंडेल लगायत मुख्य अभिनयमा छन् । नविन बोगटीको निर्देशन रहेको फिल्ममा दिर।घ गुरुङको छायांकन र प्रितम पाण्डेको सम्पादन छ ।

आयुष वुढाथोकी र सरोज पौडेलले लेखेको फिल्मका निर्मातामा सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ छन् । सिनेटर अधिकारी धापसी जेसीज २०२२ का अध्यक्ष हुन् । नेपाल जेसीजका शाखाहरुले यो अभियानमा काम गरेको र नेपाल जेसीजले लागु औषध न्यूनिकरण अभियानमा साथ दिनका लागि केही महिना अघि सम्झौता गरेको छ । सोही अनुरुप अभियान सफल बनाउन देशभर यो चलचित्र सञ्चालनमा शाखाहरुले साथ दिने तयारी भएको छ ।