झापा । मछिन्द्र फुटबल क्लब झापाको भद्रपुरमा जारी मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मेची रङ्गशालामा आज भएको दोस्रो क्वाटर फाइनल प्रतिस्पर्धामा मछिन्द्र फुटबल क्लबले चर्च ब्वाइज युनाइटेडलाई २–१ को गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो ।

मछिन्द्रको जितका लागि कप्तान सुजल श्रेष्ठ र विमल घर्तीमगरले समान एक–एक गोल गरे ।
खेलमा सुरुवाती अग्रता भने चर्च ब्वाइजले गरेको थियो । खेलको ५४ औँ मिनेटमा चर्च ब्वाइजका कप्तान अनन्त तामाङले सुरुवाती गोल गरे । उनले गगनदीप सिंहको क्रसमा हेडमार्फत गोल गरेका थिए ।
यद्यपि अन्तिम १० मिनेटमा लयमा फर्किएको मछिन्द्रले लगातार गोल फर्कायो । खेलको ८१ औँ मिनेटमा सुजल श्रेष्ठले लामो फ्रिकिकलाई सिधै गोलमा परिणत गर्दै मछिन्द्रलाई खेलमा फर्काए ।
खेललाई बराबरीमा फर्काएपछि उत्साहित मछिन्द्रका खेलाडीले लगत्तै अर्को गोल थपे खेलको ८६ औँ मिनेटमा विमल घर्तीमगरले हेडरमार्फत गोल गर्दै मछिन्द्रको जित सुनिश्चित गरे ।
मछिन्द्रले फाइनल प्रवेशका लागि अब एपिएफ फुटबल क्लब र काउवार्न बजार प्रगति संघ बंगलादेशबीचको विजेतासँग आइतबार खेल्ने छ ।
आजको खेलको प्लेयर अफ द म्याच मछिन्द्रका कप्तान सुजल श्रेष्ठ घोषित भए । उनले नगद २० हजार पुरस्कार पाए ।
भोलिको खेल त्रिभुवन आर्मी फुटबल क्लब र डु«क ल्हायुल फुटबल क्लब भुटानबीच हुनेछ ।
फागुन १८ गतेसम्पन्न हुने गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ ।