त्रिलोचन गौतम
झापा ।नेपालीको विशेष पर्व दसैँमा खानपानलाई प्रमुख प्राथमिकता दिइन्छ। किनभने बिगतदेखि नै दसैँ र मिठो परिकारको निकै घनिष्ठ सम्बन्ध रहँदै आएको छ ।
दसैँ सुरु भएपछि बजार चहलपहल र खाद्यान्नको जोहोमा सर्वसाधारण लागि परेका छन्। मिठा परिकारबिना सबैका लागि दसैँ खल्लो बनिदिन्छ।
आर्थिक अवस्था कमजोर हुनेहरूले पनि यो बेला जसोतसो परिवारको खुसीका लागि मिठो परिकार जुटाउने गर्छन्। तर पर्व त हो नि भनेर खानपानमा ख्याल नगर्दा त्यसले जीवनमा गम्भीर समस्या निम्त्याउन सक्ने चिकित्सकहरू बताउँछन्।
अन्य समय होस् वा चाडपर्वमा अत्यधिक माछा मासु र मदिरा खाँदा मुटुभित्र रगत जम्न सक्छ र हृदयाघात हुनसक्छ। तर सन्तुलित मात्रामा खाँदा नराम्रो हुँदैन। कहिले काहीँ सन्तुलन मिलाएर खाँदा हुन्छ।
चाडपर्व हो भनेर कुनै शारीरिक कामहरू नगरी एकै ठाउँमा बसेर खाँदा धेरै नै असर गर्छ। शारीरिक व्यायाम गर्नुपर्छ किनभने एक दुई दिन व्यायाम नगर्दा त खासै असर गर्दैन तर, सधैभरी व्यायाम नगर्नु घातक हुन्छ।
अहिलेको खानपिनले सानै उमेरमा समस्या बढ्दै गएको पाइन्छ। जीवनशैलीका कारणले पहिला ४० वर्ष कटेपछि हृदयाघात हुन्थ्यो। तर, अहिले युवामा पनि समस्या देखिन थालेको छ। कसैलाई उच्च रक्तचाप छ, मधुमेह भएर औषधि खाँदा पनि नियन्त्रण भएको छैन भने त्यसले नै पछि गएर हृदयाघात हुनसक्छ। त्यसैले हामीले डाक्टरको निगरानीमा बसेर आफ्नो स्वास्थ्यको ख्याल गर्नु पर्दछ। दसैँ उत्सव हो, उत्सव मनाएर रमाइलो गर्नुपर्छ। तर, रमाइलो गर्दा स्वास्थ्यलाई ख्याल गर्न बिर्सनु हुँदैन।

