मेचीनगर । मेचीनगर-८ का जनप्रतिनिधिले पुर्वको धार्मिक तथा पर्यटक स्थल पातालगंगा क्षेत्रमा सरसफाइ अभियानलाई निरन्तरता दिएका छन् ।
एक दशक अघिसम्म देशकै चर्चित बनभोज स्थलको रूपमा परिचित पातालगंगा अहिले ओझेलमा पर्न थालेको भन्दै त्यसलाई पुनः चलायमान बनाउन मेचीनगर-८ का जनप्रतिनिधि लागिपरेका हुन् ।

मेचीनगर-८ का वडा सदस्य तथा मेचीनगर सामाजिक समिति सदस्य बिष्णु भट्टराईको संयोजनमा मंसिर २९ गते शुक्रबारबाट सुरू भएको सरसफाइ अभियान आज तेस्रो हप्ता पनि सञ्चालनमा आएको छ ।
पूर्वाधार विकास, प्रवद्र्धन तथा प्रचारप्रसारको पर्खाइमा रहेको धार्मिक तथा पर्यटकीय स्थल पातालगंगा परिसरमा अहिले बनभोज खान आउने सिजन हो । त्यसलाई केहीँ भएपनि टेवा पुर्याउन सरसफाई अभियान मार्फत अगाडी बढेको जनप्रतिनिधिहरु बताउँछन् ।
मेचीनगरको ऐतिहासीक धार्मिक तथा पर्यटकिय क्षेत्र पातालगंगा क्षेत्रको संरक्षण र विकाश र सौन्दर्यीकरण गर्ने अभियान मेचीनगर-८ ले शुभारम्भ गरेको बताउँदै त्यसलाई अभियानकै रूपमा प्रत्येक साताको शुक्रवार विहान ८ बजे देखि कम्तीमा १ घण्टा जुट्ने जनप्रतिनिधि बताउँछन् ।
आज तेस्रो दिन मेचीनगर-८ का वडाघ्यक्ष गिरीराज धमला, वडासदस्य बिष्णु भट्टराई, कवितन मिजार, मनकुमारी गिरी, समाजसेवी राम बहादुर मगर, तेजन राजवंशी, सञ्जय थामीलगायतको सहभागीता रहेको थियो ।

