संघ \संस्था

यातायात व्यवस्था कार्यालय बिर्तामोडमा प्राविधिक शाखाको मनोमानी

झापा । यातायात व्यवस्था कार्यालय बिर्तामोडका प्राविधिक शाखा प्रमुख तथा मेकानिकल इन्जिनियर राजकुमार गुप्तामाथि गम्भीर अनियमितता र भ्रष्टाचार गर्ने गरेको फेला परेको छ ।

गुप्ताले सवारीसाधनको जाँच पास, दर्ता, नामसारी लगायतका काम मोबाइलमा फोटो हेरेरै गर्ने, बिना गाडी हेरी प्राविधिक सिफारिस गर्ने, तथा जरिवाना समेत मनपरी कम गरी राज्यको राजस्वमा हिनामिना गर्ने गरेको पाईएको छ ।

कोशी प्रदेश सरकारले ८२ साल असार २९ गते जारी गरेको आर्थिक ऐनअनुसार कुनै सार्वजनिक सवारीले जाँचपास गर्न कार्यालयसम्म सवारी साधन ल्याउन नसक्ने भनी निवेदन गरेमा डोर खटी जाने कर्मचारीबाट जाँचपास गराउने दस्तुर जिल्ला भित्र ५ हजार जोडिएको अर्को जिल्लामा १० हजार र अन्य जिल्लामा १२ हजार लाग्ने उल्लेख छ । गुप्ताले डोरलाई दिने पैसा लिएर मोबाइलमा फोटो हेरेको भरमा चेकजाँचको विवरण बनाउने गरेका छन् ।

गत चैत महिनामा इटहरीबाट सरुवा भई आएका गुप्ताले साना गाडीहरूबाट ५–१५ हजार र मोटरसाइकल/स्कुटरबाट १ हजारदेखि २५ सय रुपैयाँसम्म अवैध रकम लिँदै आएका छन् । उनले दैनिक १० देखि १२ वटा सवारीको जाचपासमा अबैध असुली गर्ने गरेको रेकर्ड हामीसंग प्राप्त भएको छ ।

गुप्ताले आफू नेपाली कांग्रेसका ठूला नेतासँग नजिक रहेको भन्दै अन्य कर्मचारीलाई समेत धम्क्याउने गरेको बताइएको छ।