काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई आज बिहान पक्राउ गरेकाे हाे । उनलाई भेपमार्फत सुन तस्करीको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको हो।
ब्युरोले महरासँग सम्बन्धित एक सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको थियो। केही दिन अघि मात्रै महरामाथि अनुसन्धान गर्न ब्युरोले बयान लिएको थियो।
यसअघि पनि, २०८० चैत महिनामा उनलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो, तर त्यो समय अनुसन्धानको प्रक्रिया अगाडि बढ्न सकेको थिएन।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भेपमार्फत सुन तस्करी गर्न संलग्न दुई चिनियाँ नागरिक—लुई होनसोङ र दाओनिज वाङसँग महराको निरन्तर सम्पर्क रहेको र यसै विषयमा गरिएको संवादको कल रेकर्डले प्रहरीलाई नयाँ तथ्य देखाएको छ।
सीआईबीका अनुसार, महरा र उनका छोरा राहुलसँगको उक्त संवाद र तस्करीमा संलग्न अन्य व्यक्तिहरूसँगको जडानलाई ध्यानमा राख्दै थप अनुसन्धान गरिएको छ।

