राजनीति

नेकपा एमालेको वडा स्तरिय चुनावी अभियान तीब्र

भद्रपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्र्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै वडास्तरिय चुनावी अभियानलाई तिव्र बनाउदैं लगेको छ । शुक्रबार झापाको निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत भद्रपुर नगरपालिकाको ९ र १० नम्बर वडामा विविध कार्यक्रम सम्पन्न गरेको छ ।

वागमती प्रदेशका पुर्व प्रदेश प्रमुख एवम् आसन्न फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को लागि नेपाल कम्युनिस्ट पार्टी (एमाले) झापा निर्वाचन क्षेत्र नम्वर १ का निर्वाचन परिचालन कमिटीका सह संयोजक विष्णुप्रसाद प्रसाईको प्रमुख आतिथ्यतामा नेपाल कम्युनिस्ट पार्टी (एमाले) भद्रपुर –९ नम्वर वडा कमिटीको विस्तारित बैठक सम्पन्न भएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीको तर्फबाट प्रत्यक्षतर्फका उम्मेदवार रामचन्द्र उप्रेती र समानुपातिक तर्फका उम्मेद्वार लता प्रसाई सहभागी बैठकको अध्यक्षता वडा कमिटी अध्यक्ष ध्रुवराज कार्कीले गर्दैं कार्यक्रमको औंचित्यमाथि प्रकाशसहित चुनाव प्रचार प्रसार समितिको कार्यालय उद्घाटन र विभिन्न समिति, उपसमिति गठन भएको घोषणा गरेका थिए । वडामा १४ वटा उपसमिति गठन भएको छ ।

सदस्य मञ्जु पोख्रेलले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि प्रसाई, उम्मेदवारहरु रामचन्द्र उप्रेती लता प्रसाई भटभटिया राजवंशीलगायतले बोलेका थिए ।

यसैगरी, नेपाल कम्युनिस्ट पार्टी (एमाले) भद्रपुर –१० नम्वर वडा कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दैं उम्मेद्वार रामचन्द्र उप्रेतीले हरेक नेपालीहरु हरेक कुरामा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिए । तर, नेपाली जनता परनिर्भरको अन्त्य गरी आत्मनिर्भर बन्न खोजे बाह्य शक्तिलाई मन नपर्ने स्पष्ट पारे । जब जब नेपाली जनता आत्मनिर्भर हुन खोज्छन् तब तब छिमेकीको टाउँको दुःख्ने भन्दैं उप्रेतीले उनीहरु नेपाल सशक्त, बलियो र आत्मानिर्भर भएको मन नपराउने भएका कारण पनि यी शक्तिहरु नेपालमा आफ्नो अनूकुलको सरकार बनोस भन्ने चाहाने राख्ने उनको तर्क थियो ।

अहिले नेपालका राजनीतिक दलहरुले केही गरेनन् भन्ने भाष्य सिर्जना गरी नेपाली जनतामा भ्रम छर्ने काम भएको भन्दैं उम्मेद्वार उप्रेतीले शिक्षा, स्वास्थ्य, विद्युत, सञ्चार, सडकलगायतका क्षेत्रमा देशले निक्कै फड्को मारेको बताए । अहिले स्वास्थ्य उपचारका लागि अस्पताल, शिक्षाका लागि विद्यालय, उज्यालोका लागि विद्युतलगायतको सुविधा प्राप्त भएको र अब त्यसको गणुस्तर बढाउनुपर्ने उनले बताए । एमाले सत्ता र सरकारमा हुँदा निक्कै प्रशंसायोग्य काम गरेको उनले बताए । ‘ राज्यले अब पूर्वाधारलाई मात्र विकासका रुपमा नहेरी बनेका सडक, विद्युत, अस्पताल, विद्यालयमा गुणस्तरीय सेवाका लागि दक्षजनशक्ति उत्पादनमा ध्यान दिनुपर्छ । ’ उनले भने । अस्पताल, विद्यालयमा विशेषज्ञ सेवा समयको माग भएको भन्दैं उनले राज्य यी कुरा गर्ने तर्फ लाग्नुपर्नेमा जोड दिदैं सीपसँग जोडिएको शिक्षा आजको आवश्यकता भएको बताए ।

सामाजिक सञ्जालमा कलिला मस्तिष्कमा भ्रम सिर्जना गर्ने तत्वले एमालेका विरुद्व भ्रम छर्नेगरेकोे भन्दै यस्लाई रोक्न यूवा सञ्जालको आवश्यकता औल्याए । भ्रममा परेर गलत निर्णय गरे भविष्यमा समस्या हुने र समयमै विचार पुर्याउन सवैमा आग्रह गरे ।

समानुपातिक तर्फका उम्मेद्वार लता प्रसाईले आफ्नो राजनीति यात्राका बारेमा सहभागीलाई जानकारी गराईन् । उनले आगामी दिनमा एमालेले चुनाव जितेमात्र देश बलियो र समृद्ध हुने बताइएन् । एमाले पार्टी कार्यकर्ताहरुले उम्मेद्वारलाई व्यक्तिगतरुपमा मत माग्नुभन्दा पनि पार्टीलाई जिताउन पार्टीका लागि मत माग्नुपर्ने उनको भनाई थियो ।

संविधान सभा सदस्य एवम् निर्वाचन परिचालन कमिटी संयोजक रविन कोईरालाले राजनीतिक योगदानमा अहिलेका दुवै उम्मेद्वार सक्षम निष्कलंक भएको बताए ।

फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को लागि नेपाल कम्युनिस्ट पार्टी (एमाले) झापा निर्वाचन क्षेत्र नम्वर १ का निर्वाचन परिचालन कमिटीका सह संयोजक विष्णुप्रसाद प्रसाईले हरेक नेता कार्यकर्ताहरु आफ्नो मत सुरक्षित राख्दैं गाउँ गाउँ गएर मतदाताहरुसँग मतका लागि आग्रह गर्नुपर्ने बताए ।

पार्टीका वडा कमिटी अध्यक्ष खड्गबहादुर बुढाथोकीले कार्यक्रमको सभापत्तिव गर्दै आगामी फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन –२०८२ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) सूर्य चिन्हका प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारहरूलाई विजय गराउँन भद्रपुरका मतदाता आतुर रहेको बताए । भद्रपुर –१० स्थित कमल चोकमा निर्वाचन परिचालन कार्यालय विधिवतरूपमा उद्घाटनको तयारी भएको बताए ।

कार्यक्रममा पार्टीका कोशी प्रदेश सदस्यहरू देवकुमार राई, घनश्याम अधिकारी, शिवकुमार राजभण्डारी, , क्षेत्रीय अध्यक्ष कृष्ण कनाल, शिवनारायण पौडेल, बुद्धिजीवी परिचालन कमिटी संयोजक तुलसीप्रसाद निरौला, पुरूषोत्तम अधिकारी, बाबुराम कार्की, ब्रम्हलाल ढुङ्गाना, लालबहादुरलगायत केन्द्रीय, प्रदेश, जिल्ला, क्षेत्रीय, नगर, वडातहका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । सचिव सरोज नेपालको सहजीकरण र उपाध्यक्ष एकराज भुजेलको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको हो । यसअघि पार्टीले बुद्धशान्ति गाउँपालिकाका विभिन्न वडामा कार्यक्रम गरेको छ ।

साथै सहीद दिवसका अवसरमा उम्मेद्वारहरुसहितको उपस्थितिमा झापाको मेचीनगर १५ ज्यामिरगढीमा रहेको सहिद वीरेन राजवंशीको शालीकमा माल्र्पण गरिएको थियो ।