संघ \संस्था

सशस्त्र प्रहरीद्वारा मेचीनगरबाट एकल वृद्ध पुरुषको उद्धार

झापा । मेचीनगर नगरपालिका–१५ टुक्रे बाँधस्थित मेची नदीबाट करिब १५० मिटर पूर्व चिया बगान क्षेत्रमा टहरा बनाई बस्दै आएका एकल वृद्ध पुरुषको उद्धार गरिएको छ।

आज  दिउँसो १२:४० बजेको समयमा सानो पराल र प्लास्टिकले बनाइएको टहरामा बसोबास गर्दै आएका करिब ६८ वर्षीय पूर्णबहादुर भट्टराईलाई सशस्त्र प्रहरी बल नेपाल बीओपी ज्यामिरगढीबाट सप्रनानी अमर खड्काको कमाण्डमा खटिएको ७ जनाको टोलीले उद्धार गरेको हो।

खुट्टा राम्रोसँग नचल्ने तथा छोरा–छोरी वा अन्य आफन्त कोही नभएको बताउने भट्टराईसँग प्रारम्भिक सोधपुछ गर्दा मानव सेवा आश्रममा बस्न स्वीकृति जनाएपछि उद्धार प्रक्रिया अघि बढाइएको थियो। 

सशस्त्र प्रहरी टोलीले मेचीनगर नगरपालिका–४ स्थित मानव सेवा आश्रमका जिल्ला संयोजक खगेन्द्र मानव (विश्वकर्मा) सँग समन्वय गरी आश्रमको उद्धार टोली बोलाई वृद्ध पुरुषलाई सुरक्षित रूपमा आश्रम पठाएको हो।
उद्धारपछि पूर्णबहादुर भट्टराईलाई मानव सेवा आश्रमका जिल्ला संयोजक खगेन्द्र मानव (विश्वकर्मा) को जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ।