मेचीनगर । झापाको मेचीनगरको एउटा विद्यालयमा प्रधानध्यापककै छोरी शिक्षकका रुपमा सिफारिस भए पछि स्थानीयबासी आन्दोलित भएका छन । मेचीनगर ७ स्थीत अरनिको माध्यमिक विद्यालयका प्रधानअध्यापक अग्नी घिमिरेकी छोरी पुजा घिमिरेलाई विज्ञान तथा गणित शिक्षकका लागि सिफारिस गरिए पछि स्थानीयहरु आन्दोलित भएका हुन ।
बिद्यालयका लागि नगरपालिकाको अनुदान दरबन्दीमा विज्ञान तथा गणित शिक्षक छनौटका लागि भएको परिक्षामा अनियमिता गरेर प्रधानअध्यापकले आफ्नै छोरीलाई पास गराएको स्थानीयको आरोप छ । आइतबार भएको परीक्षामा प्रधानअध्यापककी छोरी पुजा सहित ४ जना सहभागि भएकोमा पहिलो चरणकै परीक्षामा अनियमितता गरी पुजाको मात्रै नाम प्रकासित गरेर दोस्रो चरणको परीक्षाको लागि छनौट गरेको परीक्षमा सहभागि लोकेन्द्र थपलियाले बताउनु भयो ।
यस अघि पनि प्रधानअध्यापक घिमिरेले परीक्षामा अनियमितता गरी अर्की छोरीलाई पनि सोही बिद्यायलमा शिक्षक नियुक्ति गरेको र पटक पटक परीक्षमा आफ्नै छोरीहरु मात्रै नियुक्ति गरी अनियमितता गरेकाले तत्काल आवश्यक कारबाही गरी हिजोको परीक्षबाट सिफारिस गरिएकी पुजाको नियुक्तिको प्रक्रिया खारेज गर्न ३ दिने अल्टिमेटम सहित स्थानीयहरुले सामुहिक रुपमा नगरप्रमुख र उपप्रमुखलाई ज्ञापन पत्र बुझाएका छन ।
परीक्षाको बारेमा आफुलाई केही जानकारी नभएको प्रधानअध्यापक घिमिरेले सेतोपत्रलाई बताउनु भयो । ‘परीक्षाको दिन म निजि काममा थिएं,’ घिमिरेले भन्नुभयो, ‘मेरी छोरी पनि परीक्षामा सहभागि हो र परीक्षाको प्रक्रियामा उ नै पास भएकाले नियुक्ति सिफारिस गरेको हो ।’



