मेचीनगर । झापाको मेचीनगरमा प्रथम दिपज्योति काँकरभिट्टा च्यालेन्ज कप फुटबल प्रतियोगिता हुने भएको छ ।
काँकरभिट्टा युवा क्लबको आयोजनामा आगामी साउन ९ गतेदेखि १६ गतेसम्म काँकरभिट्टा खेलमैदानमा उक्त प्रतियोगिता सञ्चालन हुने भएको हो ।
प्रतियोगिताको बारेमा आयोजक क्लबले शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । प्रतियोगितामा आयोजकसहित कोशी प्रदेशका छ र भारतको दुई टिम गरी जम्मा आठ वटा टिमले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा आयोजक केवाइसी सहित नेपालका विर्तामोड युनाइटेड झापा, रेडहर्स फुटबल क्लब इलाम, एपिएफ पकली, उर्लाबारी फुटबल क्लब मोरङ र धरान एन्फा एकाडेमी अर्गनाइजेसन सुनसरी रहेका छन् भने छिमेकी राष्ट्र भारतबाट जोर्जेन फुटबल क्लब कालेङपुङ र कञ्चनजंघा फुटबल क्लब सिलिगुडी रहेको आयोजक क्लबका उपाध्यक्ष मानबहादुर तामाङले जानकारी दिए ।
प्रतियोगितामा विजेता टिमले नगद १ लाख १ हजार १ सय रूपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता हुने टिमले नगद ५० हजार ५ सय ५० रूपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका सचिव निमा लामाले जानकारी दिए । उनले अहिले प्रतियोगिता भव्य रूपमा सञ्चालन गर्न आयोजकले तयारी तिब्र बनाइ रहेको बताए ।
काँकडभिट्टा युवा क्लब केही दिन अघि मात्रै मेचीनगरलाई कार्यक्षेत्र बनाएर दर्ता भएको क्लब हो । यसले खेलकुद संगै लागू औंषध दुर्व्यशनी र सामाजिक बेथितिका विरूद्ध खबरदारी गर्ने लक्ष्य राखेको अध्यक्ष अनिल गुप्ताले जानकारी दिए ।

