धर्म संस्कृती

रुप फेरिँदै जागेश्वर शिवालय मन्दिर, अब २४सै घण्टा सीसी क्यामेराको निगरानीमा

मेचीनगर। मेचीनगर–४ स्थित जागेश्वर शिवालय मन्दिरको सुरक्षा व्यवस्था थप सुदृढ बनाइएको छ। मन्दिर परिसर र आसपासको क्षेत्रलाई २४सै घण्टा निगरानीमा राख्ने उद्देश्यले पाँचवटा सीसी क्यामेरा जडान गरिएको छ। जसमध्ये चारवटा मन्दिर परिसरभित्र र एउटा बाहिरी सडक क्षेत्रमा जडान गरिएको मन्दिर समितिले जनाएको छ।
पछिल्लो समय मन्दिरको भौतिक पूर्वाधार, सौन्दर्यीकरण तथा व्यवस्थापनमा उल्लेखनीय सुधार हुँदै आएको छ। मन्दिर समिति, स्थानीयवासी तथा वैदेशिक रोजगारीका सिलसिलामा दुबईमा रहनुभएका राहुल भारतीको सक्रिय समन्वय र पहलमा विभिन्न विकासका कामहरू निरन्तर अघि बढिरहेका छन्।

सीसी क्यामेरा खरिदका लागि निकेश श्रेष्ठ, मिलन थुलुङ, चन्द्रिका विश्वकर्मा, सुजता लुङ्गेली, विवेक चौलागाईं र तारा गौतम शिवाकोटीले आर्थिक सहयोग गर्नुभएको थियो। यस अभियानको व्यवस्थापन किरण गौतमले गर्नुभएको हो भने क्यामेरा जडानको प्राविधिक कार्य विशाल अधिकारी र विद्युत जडान रिकेश दाहालले सम्पन्न गर्नुभएको हो।
दुबईमा रहेर पनि राहुल भारतीले मन्दिरको संरक्षण, विकास तथा व्यवस्थापनमा समन्वयकर्ता र सह–संरक्षकको भूमिका निर्वाह गर्दै आउनुभएको छ। उहाँको निरन्तर सक्रियताले मन्दिरको विकास अभियानलाई थप गति दिएको स्थानीयवासी बताउँछन्।

मन्दिर समितिका सचिव राम गौतमका अनुसार सीसी क्यामेरा जडानसँगै मन्दिर परिसरको सुरक्षा व्यवस्था अझ प्रभावकारी बनेको छ। साथै, आगामी चरणमा ५० वटा आकर्षक गमला राख्ने तथा मन्दिरको मुख्य प्रवेशद्वार (गेट) निर्माण गर्ने योजना पनि अघि बढाइएको उहाँले जानकारी दिनुभयो।

स्थानीयको सहयोग, प्रवासमा रहेका नेपालीको योगदान र मन्दिर समितिको सक्रियताले जागेश्वर शिवालय मन्दिरलाई धार्मिक आस्थासँगै सुरक्षित, व्यवस्थित र आकर्षक धार्मिक गन्तव्यका रूपमा विकास गर्ने अभियानलाई नयाँ उचाइ दिएको छ।