स्वास्थ्य

होल्डिङ्ग सेन्टर सञ्चालनमा ढिलाई, जोखिमयुक्त क्षेत्रबाट आएका संक्रमित आफ्नै घर जान बाध्य

झापा । छिमेकी मुलुक भारतमा कोरोनाको ओमिक्रोन भेरियन्ट सङ्क्रमण बढ्दो छ । सङ्क्रमण बढेपछि रोजगारीलगायत विभिन्न कामका लागि भारत गएका नेपालीहरु धमाधम स्वदेश फर्कन थालेका छन् ।

तर, पूर्वी नाका काकँरभिट्टा हुँदै भारतीय क्षेत्रबाट नेपाल प्रवेश गर्ने आफ्ना नागरिकलाई लक्षित गरी नेपाल सरकारले बनाएको होल्डिङ्ग सेन्टर अझै सञ्चालनमा नआउदा जोखिमयुक्त क्षेत्रबाट आएकाहरु सोझै आफ्नै घर जान बाध्य छन् ।

सरकारले झापाको मेचीनगर नगरपालिका–१४ दुहाढगी स्थित हडिया खोला किनारमा गत असार ३ गते नैे पुस मसान्तभित्रमा निर्माण कार्य सक्ने गरी होल्डिङ्ग सेन्टरको निर्माण सम्पन्न गर्र्न नेपाली सेनालाई जिम्मा लगाएको थियो ।

सेनाले आफ्नो रेखदेख र संरक्षणमा हनुमान कन्ट्रक्सन ललितपुरलाई ठेक्का सम्झौता गरी निर्माण कार्य अगाडी बढाएको थियो । तर, सम्पन्न गर्ने मितिमा पनि अझै निर्माण कम्पनीले निर्माण सम्पन्न गर्न सकेको छैन ।

चार विगाह क्षेत्रफलमा रहेको एक हजार जना अट्ने क्षमताको होल्डिङ्ग सेन्टर समयमा नै सञ्चालनमा नआउदा भारतलगायत जोखिमयुक्त क्षेत्रबाट आएकाहरुलाई घर पठाउनुपर्ने बाध्यता रहेको काँकरभिट्टा हेल्थ डेस्कले जनाएको छ । हेल्थ डेस्कका अनुसार दैनिक पाँच सयको हाराहारीमा भारतबाट नेपाली नेपाल आउने गरेका छन् ।

स्वास्थ्य मापदण्ड पुरा नगरेका र लक्षण देखिएका सयबढीको दैनिक एन्टीजेन चेक गरिने गरेको हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीहरु बताउछन् । चेक जाँच गरि पोजेटिक आएकालाई राख्ने होल्डिङ्ग सेन्टर नहुँदा नेपाल प्रहरीको समन्वयमा सम्बन्धित पालिकाको स्थनीय जनप्रतिनिधि तथा आफन्तलाई जानकारी गराएर होम आइसोलेसनमा बस्न पठाइरहेको बताए ।

यता जिल्ला प्रशासन कार्यालय झापाका अनुसार अहिले एक सय जना क्षमताको बेड तयारी रहेको अवस्था भएपनि होल्डिङ्ग सेन्टर व्यवस्थापन सम्बन्धि मोडालिटी तयार भई नसकेका कारण सञ्चालना आउन ढिला भएको जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले अब चाडै होल्डिङ्ग सेन्टर सञ्चालनमा आउने बताए । उनका अनुसार स्वास्थ्य मन्त्रालय र नेपाली सेनासंग समन्वय गरेर होल्डिङ्ग सेन्टर व्यवस्थापन सम्बन्धि मोडालिटी तयार गरी यथाशिघ्र होल्डिङ्ग सेन्टर प्रयोगमा ल्याउने बताए ।

यसरी राज्यले करोडौं रकम खर्चेर बनाएको होल्डिङ्ग सेन्टर सञ्चालन गर्न ढिला गरे कोरोना फेरि समुदायस्तरमा फैलने देखिन्छ । त्यसैले सम्बन्धित निकायले नागरिकको स्वास्थ्यसंग प्रत्यक्ष जोडिएको यस्ता क्षेत्र सञ्चालन गर्न ढिलासुस्ती गर्नु हुँदैन अन्यता त्यसले बिकराल रुप लिन पनि सक्छ ।