समाचार

स्थानीय तहको निर्वाचन जेठमा गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौं । सत्ता गठबन्धनसम्बद्ध दलहरुले २०७९ सालको जेठमा स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज दोस्रो पटक बसेको बैठकले उक्त निर्णय गरेको हो ।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको प्रस्तावमा गठबन्धनका सबै दलहरुले सहमति जनाएका हुन् । देउवाले शनिबार बिहानको पहिलो बैठकमा त्यस्तो प्रस्ताव गरेका थिए । त्यसबारे पार्टीभित्र आन्तरिक छलफल गरेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार साँझ कानुनविद्हरुसहित गठबन्धनको बैठक बसेको थियो ।

बैठकमा २०७९ सालको जेठमा स्थानीय निर्वाचन गर्ने सहमति भएको हो । सहमतिसँगै अब सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर निर्वाचनको मिति तोक्ने नेताहरुले जनाएका छन् ।

यसअघि गठबन्धनले असोजपछि मात्रै स्थानीय निर्वाचन गर्ने गरी छलफल चलाउँदै आएको थियो । तर, शनिबार बिहानमात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल स्थानीय निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

निर्वाचन आयोगले यसअघि नै वैशाखमा निर्वाचन गर्न मिति प्रस्ताव गरिसकेको छ । तर, आयोगको प्रस्तावविपरीत गठबन्धनले निर्वाचन सार्ने प्रपञ्च रचेको भन्दै चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री देउवाले गठबन्धनमा जेठमै निर्वाचन गर्ने सहमति जुटाएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले समेत बिहीबार देउवासँगको भेटमा लिखितरुपमै स्थानीय निर्वाचन नसार्न आग्रह गरेकी थिइन् ।