राजनीति

सिट बाँडफाँडको सकसले सत्ता गठबन्धन नै धरमरमा, निर्णायक मोडमा माओवादी केन्द्र

काठमाडौँ । सत्तारुढ गठबन्धनमा फेरि नयाँ सकस सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको रणनीतिलाई असफल बनाउन तालमेल गर्ने निर्णयमा पुगेको सत्ता गठबन्धन सिट बाँडफाँडको विषयलाई लिएर धरमर अवस्थामा पुगेको हो ।

गठबन्धनमा यति बेला सबैभन्दा निर्णायक मोडमा माओवादी केन्द्र छ । माओवादीलाई जता मिल्दा पनि चिठ्ठा पर्ने भएकाले अध्यक्ष प्रचण्ड आफ्नो फाइदालाई केन्द्र विन्दुमा राखेर कांग्रेस र एमालेसँग परस्पर छलफल गरिरहेको केही नेताहरूले बताएका छन् ।

नाम नखुलाउने शर्तमा माओवादी केन्द्रका नेताका अनुसार प्रचण्ड चुनाव लगत्तै प्रधानमन्त्री बन्न खोजिरहेका छन् । तर कांग्रेसले सिट बाँडफाँडमै कन्जुस्याइँ गरेको र चुनावपछि ठूलो पार्टीको हैसियतले आफै प्रधानमन्त्री बन्नुपर्ने अडान लिइरहेका बेला प्रचण्डको ‘पोजिसन’ स्पष्ट भइसकेको छैन ।

यही अस्पष्टताका कारण प्रचण्डले कांग्रेससँगै एमालेका नेताहरुसँग पनि छलफल अगाडि बढाएका छन् । भारत भ्रमणबाट फर्के लगत्तै प्रचण्डले वाम एकताको रिहर्सल गरेका थिए । कम्युनिष्ट नेताहरूसँगको छलफलमा प्रचण्डले समाजवादी केन्द्र निर्माणको प्रयास समेत थालेका थिए ।

त्यो कोसँग मिल्दा अहिले माओवादी र नेकपा एकिकृत समाजवादीलाई बढी फाइदा हुन्छ भन्ने विषयमा केन्द्रित थियो । विगत पाँच वर्षको समीक्षामा नेकपा एमाले धेरै हिसाबले ‘फेलियर’ छ । त्यो असफलतामा प्रचण्ड र माधव नेपालको हातमाथि छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आँखा चिम्लेर विश्वास गर्दा संविधान धरापमा परेको, संसद् विघटन भएको र आफूहरू सत्ताभित्रै प्रतिपक्षीमा खुम्चिनुपरेको तितो अनुभव भएका कारण प्रचण्ड र माधव नेपाल खुलेर वाम एकता गर्न पछाडि हटेका हुन् ।

तर कांग्रेससँग तत्काल निर्णय गर्न सक्ने क्षमता नभएका कारण प्रचण्ड र माधव नेपाल आउँदो पुरै पाँच वर्ष ‘दक्षिणपन्थी’सँग पूरा सहकार्य गर्न सकिनेमा अन्योलमा छन् । त्यसमाथि कांग्रेस अरूलाई सम्मानजनक सिट र सोही अनुसार हैसियत दिनमा झनै ढिलाइ गर्ने पार्टी हो ।

एमाले अध्यक्ष ओलीले आफ्नो पद जोगाउन तत्कालै संसद् विघटन गर्न लागे पनि सहकार्यका लागि एक अर्कालाई सम्मान गर्न सक्ने नेताको रूपमै बुझिएको माओवादी नेताहरूको भित्री तर्क छ ।

‘कांग्रेससँग चुनावमा तालमेल गर्न गाह्रो छैन । तर तालमेल गरेर कति सिट पाउने हो रु चुनावपछि प्रधानमन्त्री को बन्ने हो रु माओवादीले कसरी आफ्नो पोजिसन लिने हो रु त्यसमाथि माधव नेपालको पार्टी पनि बोक्नु छ’ एक माओवादी नेताले प्रचण्डभित्रको मनस्थितिबारे खबरहबसँग भने, ‘त्यसैले अहिले कांग्रेससँग भन्दा एमालेसँगै सहकार्य गर्दा सजिलो हुने हो कि भन्ने द्विविधा उत्पन्न भएको छ । यसमा माधव नेपालजी पनि तयार देखिनु भएको छ ।’

माओवादीमा अहिले चुनावमा सिट बाँडफाँडको विषयलाई लिएर दुई वटा आशंका छ । पहिलो चुनावमा अन्तर्घात गरेर हराइदिने । दोस्रो, माधव नेपाललाई पनि आफैँले बचाउनुपर्ने कारणले कांग्रेससँग सम्मानजनक सिट पाउन संख्यामा सुनिश्चित गराउने ।

तर यी दुई वटै विषयमा निश्चितता छैन । पहिलो कांग्रेसभित्रको संस्थापनइतर पक्ष माओवादीलाई धेरै सिट दिन नहुने, दिए पनि, नदिए पनि अन्तर्घात गरेर हराइदिने क्षमता राख्छ । अर्को कुरा देउवा पक्षलाई कमजोर गराउन आफ्ना उम्मेदवार मात्रै जिताउने सम्भावनामा बढी आन्तरिक लडाई केन्द्रित हुने ।

कांग्रेसभित्रैको लडाईले यसपटक आफैलाई चुनाव जित्न स्वयंम प्रचण्ड गाह्रो देखिरहेका छन् । त्यसमाथि प्रचण्ड, देउवा, ओली लगायतलाई चुनाव हराउन स्वतन्त्र उम्मेद्वारहरुले ‘नो नट अगेन’ अभियान नै चलाएका छन् ।

यस्तो अवस्थालाई राम्रोसँग नियालेको र परिस्थितिलाई काबुमा राख्न सक्ने क्षमताका ओलीसँग पो तालमेल गर्नुपर्छ कि भन्ने द्विविधा प्रचण्डमा विकास भएको छ । देउवासँग सहमतिको रटान लगाउने तर भागबण्डामा आफूले धेरै सिट नपाए फेरि एमालेसँग मिल्ने विकल्पमा प्रचण्ड एक कदम अगाडि बढेको पनि माओवादी नेताहरू बताउँछन् ।

त्यसैले कृष्ण सिटौला नेतृत्वको सिट बाँडफाँड कार्यदलले बुझाउने प्रतिवेदन र त्यसलाई कार्यान्वयन गराउन कांग्रेस सभापति शेरबहादुर देउवा थोरैमाथि तलमाथि हुँदा प्रचण्डको प्रधानमन्त्री बनिछाड्ने दौड एमालेको कित्तामा पुग्न सक्छ। जसमा माधव नेपाल र झलनाथ खनालको पनि ‘ग्रीन सिग्नल’ छ ।

यस्तो अवस्थामा आन्तरिक लडाई र सिट बाँडफाँडमा कांग्रेस हदैसम्म लचिलो हुनुपर्ने आवाज कांग्रेसभित्रको संस्थापन पक्षमा बलियो गरी उठिरहेको छ ।