झापा । नेपालको पूर्वी अन्तराष्ट्रिय नाका काँकरभिट्टा नाका आज राती १२ बजेबाट ७२ घण्टाका लागि बन्द हुने भएको छ ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, एवम् भयरहित वातावरणमा सम्पन्न गराउनका लागि पूर्वी अन्तराष्ट्रिय नाका काँकरभिट्टासहित भारतसँग सीमा जोडिएका झापा जिल्लाका सबै सीमा नाकाहरू बन्द गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय झापाका अनुसार मंसिर १ गते राती १२ बजे देखि ४ गते राती १२ बजेसम्मलाई जिल्लाका सम्पूर्ण नाकाहरू बन्द गरिएको बताएको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले काँकरभिट्टा, भद्रपुर, केचना, झापा, गौरीगञ्ज लगायत जिल्लाका प्रमुख तथा शाखा सबै नाकाहरु बन्द गरिएको बताए । उनले नाका बन्दको समयमा बिशेष बाहेक आवतजावतलगायत नाकाबाट हुँदै आएको सम्पूर्ण गतिबिधिहरु बन्द गरिएको बताए ।

