काठमाडौं । उपाधि दाबेदार अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
अहमेद बिन अलि स्टेडियममा शनिबार राति अष्ट्रेलियालाई २-१ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम आठमा पुगेको हो । अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले एक एक गोल गरे । अष्ट्रेलियाले एक गोल आत्मघाती उपहार पाएको थियो ।
खेलको ३५ औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । विश्वकपको नकआउट चरणमा मेस्सीको पहिलो गोल हो । यस्तै मेस्सीको यस खेल करियरको १००० औं खेल हो ।

खेलको ५७ औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ७७ औं मिनेटमा इन्जो फर्नान्डेजले आत्मघाती गोल गरेपनि अर्जेन्टिना २-१ ले विजयी भयो ।
जितसँगै अर्जेन्टिना कतार विश्वकपको क्वाटरफाइनलमा पुग्ने दोस्रो टोली बनेको छ । अब अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्सको सामना गर्नेछ ।
अष्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिएको छ ।
त्यस्तै यस अघि नै शनिबार बेलुका भएको अर्को खेलमा नेदरल्यान्ड्स क्वाटरफाइनलमा पुगिसकेको छ । खालिफा अन्तराष्ट्रिय स्टेडियममा भएको राउण्ड अफ १६ को खेलमा अमेरिकालाई ३-१ गोल अन्तरले हराउँदै नेदरल्यान्ड्स अन्तिम आठमा पुगेको हो ।
नेदरल्यान्ड्सको जितमा मेम्फिस डिपे, डेली ब्लाइन्ड र डेन्जेल डुमफ्रिएसले एक एक गोल गरे । अमेरिकाका हाजी राइटले एक गोल फर्काए । खेलको १० औं मिनेटमा डिपेले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा ब्लाइन्डले गोल गर्दै नेदरल्यान्ड्सलाई २-० को अग्रता दिलाए । खेलको ७६ औं मिनेटमा हाजीले गोल गर्दै अमेरिकालाई २-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ८१ औं मिनेटमा डेन्जेलले गोल गर्दै नेदरल्यान्ड्सलाई ३-१ को सहज जित दिलाए । यस जितसँगै नेदरल्यान्ड्स कतार विश्वकपको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ ।
नेदरल्यान्ड्सले क्वाटरफाइनलमा अर्जेन्टिनासँग खेल्नेछ ।

