मेचीनगर । मेचीनगर नगरपालिका २ का वडाध्यक्ष दिपक बरालले ग्रामीण क्षेत्रका मानिसहरूको आर्थिक अवस्था उकास्न सहकारी संस्थाहरूको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । उनले सहकारी ग्रामिण भेगका लागि सारथी बन्दै आएको बताएका हुन् ।
मंगलबार मेचीनगर २ स्थित बौद्धमोडमा बौद्धमोड कृषि सहकारी संस्था लि को १४औं वार्षिक साधारणसभाको उद्घाटन सत्रमा बोल्दै वडाध्यक्ष बरालले पछिल्लो समय आर्थिक तरलताले समस्या सृजना गरिरहेको अवस्थामा पनि बौद्धमोड कृषि सहकारी संस्थाले आफ्नो सदस्यहरूलाई सहजरूपमा आर्थिक कारोबारलगायतका सेवाहरू प्रदान गर्दै आएकोमा संस्थाको यस कार्य प्रशंसनीय रहेको बताए ।

वडा अध्यक्ष बरालले जनतालाई गारो सारो पर्दा सहकारीले साथ दिँदै आएको बताए । साथै उनले वडा कार्यालयका तर्फबाट वडाबासीका हरेक समस्याहरुको सारथी बन्ने समेत बताए । जनताले दिएको विश्वासलाई ५ वर्ष सम्म कायम राख्दै जनताकै लागि काम गर्ने अध्यक्ष बरालले बताए ।

१४औं वार्षिक साधारणसभाको अवसरमा संस्थाले विभिन्न व्यक्तित्वहरूलाई सम्मान समेत गरेको छ । सम्मानित हुनेहरूमा कार्यक्रममा संस्थाको उत्कृष्ट बचतकर्तातर्फ अशोक कार्की र अमिन मगर, असल ऋणीतर्फ केशर तामाङ र साने तामाङ, जेष्ठ नागरिकतर्फ देवीप्रसाद सुवेदी र भिमप्रसाद दुलाल, उत्कृष्ट कृषकतर्फ विरेन सारू र साविक बाहुण्डाँगी क्षेत्रको सामुदायिक विद्यालयबाट एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल उत्सव खनाललाई संस्थाको तर्फबाट दोसल्ला ओढाएर नगदसहित सम्मान पत्रले सम्मान गरिएको संस्थाले जनाएको छ ।

संस्थाका अध्यक्ष नरेन्द्र काफ्लेको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा संस्थाको तर्फबाट उपाध्यक्ष किशोर तामाङले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा कृष्णथुम्की कृषि सहकारी संस्थाका अध्यक्ष हिक्मत क्षेत्रीलगायतका अतिथिले शुभकामना मन्तव्य राखेको कार्यक्रममा छविलाल काफ्ले, भिम चम्लागाई, पूर्णबहादुर खड्का, अग्निप्रसाद आचार्यलगायतको आतिथ्यता रहेको थियो ।
संस्थाका लेखा सिमित संयोजक पोषककुमार दर्जीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा सञ्चालन समिति सदस्य यमकुमार सुब्बाले स्वागत तथा संस्थाका व्यवस्थापक हेमन्त मोक्तानले सञ्चालन गरेका थिए ।

