झापा । झापाको सदरमुकाम चन्द्रगढीमा करिब दुई दशकपछि अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
झापाको पुरानो र एक मात्र स्थायी रंगशाला मेची रंगशालामा यही फागुन अन्तिम सातादेखि “भद्रपुर झापा गोल्ड कप” अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता हुने भएका हो ।

गोल्डकप मुल आयोजक समितिले बिहिबार भद्रपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता फागुन अन्तिम सातादेखि सञ्चालन गर्ने तयारी गरिएको जनाएको छ । आयोजकका अनुसार अहिले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग छलफल भइरहेको र चाडैं नै प्रतियोगिता सम्बन्धि मिति तय हुने छ ।
२०६१ सालमा भएको त्रिभुवन गोल्डकपपछि चन्द्रगढीमा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुन सकेको थिएन । स्थानीय खेलाडीले प्रशिक्षण गर्दा मैदान जीर्ण बनेकाले पुनर्निर्माण सुरु गरिएको प्रतियोगिता मुल आयोजक समिति अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।

भद्रपुर नगरपालिकाको संरक्षणमा पहिलोपटक हुन लागेको भद्रपुर झापा गोल्डकपमा ‘ए’ डिभिजन क्लबसहित विदेशी टोलीको सहभागिता रहनेछ । भद्रपुर नगरपालिकाले चालु आर्थिक वर्षमा गोल्डकपका लागि ३० लाख रुपैयाँ बजेट छुट्टाएको छ ।
फुटबल प्रतियोगिता सञ्चालन नहुँदा झापाको पुरानो र एक मात्र स्थायी रंगशाला प्रयोगविहीन बन्दै गएको थियो । ओझेलमा पर्दै आइरहेको मेची रंगशालालाई पुनर्जीवन दिने उद्देश्यले स्थानीय सरकारको तर्फबाट भद्रपुर नगरपालिका भद्रपुर झापा गोल्डकप सफल पार्न लागि पर्ने भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेल बताउँछन् ।

फागुन अन्तिम सातादेखि हुने भद्रपुर झापा गोल्डकपको विजेता टिमले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फवार्ड र उत्कृष्ट प्रशिक्षकले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँ पाउनेछन् ।
प्रतियोगिता सञ्चालनको लागि एक करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको छ । मुल आयोजक समितिले अहिेले रंगशाला सम्याउने, झार मिलाउने, पानी हाल्ने, रंगशालामा रंग रोगन गर्नेुका साथै प्रतियोगिता सम्पन्न गर्न विभिन्न उपसमितिहरु पनि निर्माण गरिरहेको छ ।


