खेलकुद

छात्राहरुका लागि आत्मरक्षा अभिमुखिकरण सुरु

झपा, अषाढ २६ । शारीरिक रुपमा हुने हिंसाजन्य घटना नियन्त्रण गर्ने उद्धेश्यले छात्राहरुका लागि आत्मरक्षा सम्बन्धि अभिमुखिकरण तालिम बिहीबारदेखि सुरु भएको छ ।
‘महिला सशक्तिकरणका लागि हाम्रो संकल्प, खेलकुदमा महिला सहभागिता उत्तम विकल्प’ भन्ने मूल उद्घोषसहित काँकरभिट्टामा सो तालिम सुरु भएको हो ।
राष्ट्रिय खेलकुद परिषद्को राष्ट्रपति खेलकुदमा महिला सहभागिता अभिवृद्धि कार्यक्रम अन्र्तगत सञ्चालित तालिमको उद्घाटन प्रदेश सभा साँसद् गोपालचन्द्र बुढाथोकीले गरेका छन् ।

जिल्ला खेलकुद विकास समिति झापाको समन्वय तथा व्यवस्थापनमा सुरु दुई दिवशीय तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि साँसद् बुढाथोकीले महिला स्वयंले आफ्नो सुरक्षा गर्न तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
शुक्रबार समापन हुने तालिमको उद्घाटन सत्रमा नेपाल सेल्फ डिफेन्स संघका अध्यक्ष डिबी रानापालले शारीरिक रुपमा महिलालाई हुन सक्ने हिंसात्मक घटनाबाट जोगिने उपाय सिकाउन तालिम सुरु गरिएको बताए ।
तालिम उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका सदस्य हरिमाया मैनाली, पूर्णकुमार सिटौला, भानु साहित्यिक प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेती, दमक नगर खेलकुद समिति कोषाध्यक्ष इन्दू न्यौपाने, सदस्य विमला दाहाल, पत्रकार महासंघ जिल्ला सचिव सन्तोष आचार्यलगायतको आतिथ्यता थियो ।

सो अवसरमा १० औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिएका झापा जिल्लाका १ सय १० वटा सामुदायिक र संस्थागत विद्यालयलाई खेल सामाग्री खरिद तथा प्रोत्साहन स्वरुप प्रति विद्यालय १० हजार रुपैयाँका दरले रकम वितरण गरियो ।
त्यसक्रममा सगरमाथा मल्टि मार्सल आर्टका अध्यक्ष दीपक धिमाल र शारीरिक सुगठन प्रतियोगितामा मिस्टर पूर्वाञ्चलको उपाधि विजेता तुलबहादूर श्रेष्ठलाई सम्मान गरिएको थियो ।
अभिमुखिकरण तालिममा जिल्लाका सामुदायिक र संस्थागत विद्यालयमा कक्षा ९ देखि १२ सम्म अध्ययनरत् ३ सय बढी छात्राहरुले भाग लिएका संघका जिल्ला उपाध्यक्ष धनप्रसाद शिवाकोटीले जानकारी दिए ।

एक विद्यालय बराबर ३ जना छात्रा सहभागी तालिमको सहजिकरण नेपाल सेल्फ डिफेन्स संघका प्रमुख प्रशिक्षक सञ्जु महर्जन, क्षेत्रीय प्रशिक्षक शिला श्रेष्ठ, प्रकाश बस्नेत र पिंकी वर्मनले गरिरहेका छन् ।
‘राखेपको वार्षिक कार्यक्रम हो यो, महिला हिंसा न्यूनिकरणका लागि संघको देशव्यापी अभियान जारी छ’ संघका वरिष्ठ केन्द्रीय उपाध्यक्ष शंकर थापाले भने–‘अहिलेसम्म ३४ जिल्लाका २० हजार महिलालाई प्रशिक्षित गराइएको छ ।’
काँकरभिट्टा खानेपानी संस्थाको कार्यक्रम हलमा जारी प्रशिक्षणका प्रशिक्षार्थीहरुलाई आत्मरक्षा सम्बन्धि सैद्धान्तिक र प्रयोगात्मक अभ्यास गराइएको तालिमका प्रमुख प्रशिक्षक बस्नेतले जानकारी दिए ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्वागत समिति उपाध्यक्ष भेषराज भण्डारी र सञ्चालन समिति कार्यालय प्रमुख टहलदाश मैनालीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.