मेचीनगर । विराट भेट्रान फुटबल क्लब मोरङले पाहुना टोली भारतको दार्जिलिङ भेट्रान फुटबल क्लबलाई पराजित गर्दै झापाको मेचीनगरमा आजबाट सुरु तेस्रो इण्डो–नेपाल भेट्रान फुटबल प्रतियोगितामा शुखद् सुरूवात गरेको छ ।

काँकरभिट्टा भेट्रान फुटबल क्लबको आयोजनामा काँकरभिट्टा माविको खेल मैदानमा सञ्चालित प्रतियोगिताको आज भएको उद्घाटन खेलमा पाहुना टोली दार्जिलिङ टाउनलाई ४–१ गोल अन्तरले पराजित गर्दै मोरङको विराट भेट्रान क्लबले अघिल्लो चरण प्रवेश गरेको हो ।
खेलको १३ मिनेटमा विराट भेट्रानका डेनिम राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, खेलको २५ औं मिनेटमा दार्जिलिङका सुदिप राईले गोल गर्दै खेललाई बराबरीमा ल्याए । खेलको पहिलो हाप बराबरी खेलेको दार्जिलिङ दोस्रो हापमा कमजोर देखियो । मोरङसामु फितलो प्रदर्शन गरेको दार्जिलिङलाई फराकिलो गोल अन्तरले पराजित गर्न विराटको तर्फबाट ५२ औं मिनेटमा डेनिम राईले थप एक गोल गर्दा दिपेन राईले ५८ र सुनिल कुमार सुवेदीले ६८ औं मिनेटमा गोल थपे ।
यता खेलमा पाएको थुप्रै अवसरहरू सदुपयोग गर्न नसक्दा दार्जिलिङ प्रतियोगिताबाट बाहिरियो । उद्घाटन खेलको म्यान अफ द म्याच विजेता टिमका सुनिलकुमार सुवेदी घोषित भए । उनले नगदसहित ट्रफि प्राप्त गरे ।

काँकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरको सह–आयोजना र मेचीनगर नगरपालिका संरक्षक रहेको प्रतियोगितामा नेपालर भारतको १० चर्चित भेट्रान फुटबल क्लब सहभागी रहेका छन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ ।
भोलिको खेल आयोजक काँकरभिट्टा भेट्रान फुटबल क्लब र मिलामोड त्रिभेनी साङ्गा दार्जिलिङ बिच दिनको ३ बजेदेदि हुने क्लबका महासचिव सुन्दर बस्नेतले जानकारी दिए ।

काँकरभिट्टा भेट्रान फुटबल क्लबका अध्यक्ष गंगालाल गुरुङको सभापतित्वमा आयोजना भएको प्रतियोगिताको औपचारीक उद्घाटन मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । कार्याक्रममा प्रमुख आतिथी नगर प्रमुख बुढाथोकीले खेलकुदको क्षेत्रबाट देश तथा विदेशमा मेचीनगरलाई चिनिने गरेको बताउँदै त्यसलाई प्रोत्साहान र संरक्षकको रुपमा स्थानीय सरकारको तर्फबाट आफुले गर्नसक्ने सहयोग गर्ने बताए ।

कार्यक्रममा पुर्व प्रदेश सांसद श्रीप्रसाद मैनाली, पुर्व मेचीनगर प्रमुख विमल आचार्य, खेलकुद विकास समिति झापाका पुर्व अध्यक्ष शंकर थापा, डिल्लिराम घिमिरेलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

आयोजक क्लबका बरिष्ठ उपाध्यक्ष राजु पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव शेरबहादुर बस्नेत(सुन्दर) ले गरेका थिए ।


