राजनीति

नेपालीहरु फुटेर हैन जुटेर अगाडी बढ्नुपर्छ : अध्यक्ष लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले केहि अराजक तत्वहरुले पछिल्लो समय मिलेर बसेको नेपालीलाई जाती, धर्म, संस्कृति र भाषाको आधारमा भड्काउने कार्य गरिरहेको बताएका छन् । उनले नेपालीहरु फुटेर हैन जुटेर अगाडी बढ्नुपर्ने समय आएको बताउँदै त्यस्तो कार्य गर्ने जो कोहि भएपनि सफल नहुने बताए ।

शुक्रबार (आज) गृह जिल्ला झापा पुगेका पूर्व उपप्रधानमन्त्री तथा संघीय सांसदसमेत रहेका अध्यक्ष लिङ्देनले मेचीनगरमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन मेचीनगरद्वारा आयोजित तीज बिशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै नेपाली एकै रहेको बताए । सबै जाती, धर्म, संस्कृति र भाषाको आआफ्नै महत्व र अस्तित्व रहेको बताउँदै फुटेर नभई एक अर्कासंग मिलेर अगाडी बढ्नु पर्ने उनको भनाई थियो । उनले दशैं, तिहार, तीजलगायतका चाडपर्वले नेपालीहरुलाई एकताबद्ध हुन थप प्रेरणा मिल्ने गरेको बताए ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य राजकुमार पोख्रेल, कोशी प्रदेशसभा सदस्य सविना बजगाई, प्रदेश सांसद गोपाल गजमेर, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष केशवप्रसाद ओझा, अशोक सुब्बा, सारदा रिजाललगायले बोलेका थिए ।

कार्यक्रममा पार्टीको विभिन्न गतिविधिमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेहरुमा सम्मानित पवित्रा थापा, खड्ककुमारी बस्नेत, सुमित्रा अधिकारी, माया गुरूङ, मेनुका पराजुली रहेका छन् । त्यस्तै समाजमा शिक्षण पेशा तथा साहित्य क्षेत्रबाट योगदान पुर्याएकी मिरा काफ्ले पोख्रेल र सहयोगी दाता समाजसेवी महावीर अग्रवाल रहेका छन् ।

शोहि कार्यक्रममा दुई दर्जनबढी महिलाहरुलाई तीजको कोशेली स्वरुप साडी वितरण गरिएको थियो भने, कार्यक्रममा सहभागी सम्पूृर्णलाई दर खुवाइएको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला सदस्य अस्मिता खरेलको अध्यक्षतामा आयोजना भएको तीज बिशेष कार्यक्रममा स्वागत राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन झापा क्षेत्र नं १ अध्यक्ष इन्दिरा खरेलले गरेकी थिइन् । कार्यक्रम सञ्चालन राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला सदस्य सुनिता शर्मा र मेचीनगर सचिव विशालकृष्ण बास्तोलाले गरेका थिए ।