संघ \संस्था

काँकरभिट्टा स्वास्थ्य चौकी प्रथम

मेचीनगर । गत आर्थिक वर्ष २९७९/०८० मा काँकरभिट्टा स्वास्थ्य चौकी प्रथम भएको छ । मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखा अन्तर्गत नगरभित्रका कुल १५ वटा स्वास्थ्य केन्द्रहरु मध्ये काँकरभिट्टा प्रथम भएको हो ।

मेचीनगर नगरक्षेत्रभित्र बाहुनडाँगी, काँकरभिट्टा, धाईजन, दुहागढी र ज्यामिरगढीगरी कुल पाचवटा स्वास्थय चौकी छन् । चारवटालाई पछि पार्दै काँकरभिट्टा प्रथम भएको उपप्रमुख मीना पोखरेल उप्रेतीको सचिवालयले जनाएको छ ।

मेचीनगरभित्र नगरपालिकाभित्र मेचीनगर —१० धुलावारीमा प्राथमिक स्वास्थ्य केन्द्र एउटा, पाच वटा स्वास्थ्य चौकी र नौवटा आधारभूत स्वास्थ्य
केन्द्र गरी कुल १५ वटा स्वास्थ्य संस्थाहरु छन् । यी स्वास्थ्य संस्थाबाट झण्डै ७० जनाभन्दा बढी स्वास्थ्यकर्मीले सेवा दिने गरेका छन् ।

आधारभूत स्वास्थ्य केन्द्र मेचीनगर—८ रेन्किङमा

यसैगरी कुल नौ वटा आधारभूत स्वास्थ्य केन्द्रहरुमध्ये आधारभूत स्वास्थ्य केन्द्र मेचीनगर—८ रेन्किङमा पर्न सफल भएको छ । नगरभित्र वडानम्बर १,२,३,५,७,८,९, १२, १३ मा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा रहेका छन् । स्वास्थ्य कार्यक्रमहरुको मुख्यःसूचक स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्डका आधारमा काँकरभिट्टा प्रथम र आधारभूत स्वास्थ्य केन्द्र मेचीनगर—८ रेन्किङमा पर्न सफल भएको नगरस्तरीय स्वास्थ्य शाखा संयोजक सविता सापकोटा निरौलाले जानकारी दिनुभयो ।

आइतबार नगपालिकाको सभाहलमा सम्पन्न मेचीनगर नगरपालिका अन्तर्गत स्वास्थ्य संस्थाहरुको क्षयरोग तथा अन्य कार्यक्रमहरुको पालिका स्तरीय वार्षिक समिक्षा गोष्ठीमा काँकरभिट्टा स्वास्थ्य चौकी प्रथम र आधारभूत स्वास्थ्य केन्द्र मेचीनगर —८ रेन्किङमा पर्न सफल भएको घोषणा गरिएको थियो ।

कार्यक्रममा सवै वडाका स्वास्थ्य संस्थाबाट सूचकहरु प्रस्तुत गरी मुख्यः मुख्यः समस्या पहिचान गरी समाधानकालागि आवश्यक छलफल र आगामी कार्ययोजना र आधारभूत गुणस्तरीय स्वास्थ्य सेवालाई जनताको पहुँचमा पुर्याउने प्राथमिकताका प्राप्त सबै कार्यक्रम र थप आवश्यक कार्यक्रमहरु प्रसुती प्रोत्साहन, क्षयरोग मुक्त पालिका घोषणा अभियानलगायत नविनतम कार्यक्रमहरु कार्यन्वयन गर्ने आगामी कार्यक्रमहरु तयारी गरिएको छ ।

नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा भएको वार्षिक समिक्षा गोष्ठीमा बोल्दैं उपप्रमुख मीना पोखरेल उप्रेतीले आम नागरिकले निःशुल्क रूपमा आधारभूत स्वास्थ्य सेवा पाउनु नैसर्गिक अधिकार भएको बताउनुभयो । नेपालको संविधान २०७२ को धारा ३५ मा उल्लेख भए बमोजिम प्रत्येक नागरिकलाई राज्यबाट निःशुल्क रूपमा आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने नैसर्गिक अधिकार छ त्यसैले सबैलाई स्वास्थ्यको पहुँचमा पु¥याउन स्थानीय सरकार लागि परेको उहाँले स्मरण गराउनुभयो ।

स्वास्थ्य, शिक्षालाई नागरिकको नैसर्गिक अधिकारका रुपमा संविधानमा उल्लेख गरिए पनि व्यावहारिक रुपमा कार्यान्वयन गर्नेतर्फ सरकार गम्भीर भएर लागेको उपप्रमुख उप्रेतीले बताउँनुभयो । संविधानमा नागरिकको स्वास्थ्य सेवाका विषयमा उल्लेख गरिनुले आम नागरिकमा विश्वास लाग्नु स्वाभाविक नै भएको बताउँदैं उपप्रमुख उप्रेतीले संविधानमा व्यवस्था गरिएका सेवा–सुविधाहरु के–कसरी पूरा गर्न सकिन्छ ? त्यतातर्फ नगरको भूमिका महत्वपूर्ण हुने हुदाँ सिङ्गो स्वास्थ्य केन्द्र, स्वास्थ्यकर्मीहरु लाग्नुपर्ने स्पष्ट पार्नुभयो ।

जनस्वास्थ्यलाई सर्वसुलभ बनाउनेतर्फ निःस्वार्थ भावले लाग्ने बताउँर्दै उहाँले सबै नेपाली नागरिकको स्वस्थ भएर बाँच्न पाउने नैसर्गिक अधिकारलाई राज्यले विभेद गर्नुनहुने पनि स्पष्ट पार्नुभयो । ‘हरेक मानिसको राज्यबाट पाउने अधिकार समान हुनुपर्छ ।’ उहाँले भन्नुभयो ।

कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य र स्वास्थ्य कार्यालय झापाका खोप अधिकृत राजकुमार पोखरेलसहित ठूलो संख्यामा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।