मेचीनगर । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटीले नेपालको पुर्वी सिमा स्तम्भहरू अनुगमन गरेको छ । देशको सार्वभौमिकता प्रति चासो राख्दै राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटीले शनिबार मेची नदि संगै रहेका नेपाल- भारत छुट्याउने सिमा स्तम्भहरूको अनुगमन गरेको हो ।
राष्ट्रिय युवा संघ नेपाल कोशी प्रदेश कमिटी सदस्य रविनशन थापामगरको प्रमुख आतिथ्यमा सञ्चालन भएको अभियान मेचीनगर १ देखि सिमा जोडिएको वडा नम्बर १५ सम्म नै सिमा स्तम्भहरू अनुगमन गरेको थियो ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापामगरले छिमेकी देश भारतले देशको विभिन्न स्थानमा नेपाली भूमि अतिक्रमण गरिरहेको खबरहरू बेला बखत आउने गरेकोमा पुर्वी सिमानामा त्यस्तो कार्य नहोस् भन्नका लागि देशको भूमिप्रति चासो दिदैं राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटीले सिमा स्तम्भको वर्तमान अवस्था प्रति चासो राख्नु सह्रानिय कार्य भएको बताए ।

देशको शक्ति भनेको युवा शक्ति नै रहेको बताउँदै उनले अब राष्ट्रिय युवा संघ मात्रै होइन सबै युवा वर्ग राष्ट्र र राष्ट्रियताको सवालमा सकरात्मक शक्ति बनेर अगाडि बढ्नुपर्ने बताए ।
सिमा स्तम्भ अनुगमन गर्ने क्रममा मेचीनगर १ मा जम्मा ३३ वटा स्तम्भ रहेकोमा सबै हराएर ६ वटा मात्रै बाँकी रहेको पाइएको छ । यसमध्ये पनि एउटा पुर्ण रूपमा ढलेको छ भने अर्को एउटा सामान्य रूपमा ढलेको पाइएको आयोजकले जनाएको छ ।

त्यस्तै अनुगमनकै क्रममा युवा संघ मेचीनगर १५ मा पर्ने मेचीनदी पारि ग्वालबस्ती पुगेको थियो । र उक्त स्थानका नेपाली नागरिकले आफुहरूलाई राज्यले सधैं उपेक्षा गरिरहेकाे गुनासो गरे । युवासंघ मेचीनगरका अनुसार अनुगमनका क्रममा मेची पारिको नेपाली गाँउमा शिक्षा, स्वास्थ्य र एउटा झोलुङ्गे पुलको अति आवश्यक रहेको जनाएको छ ।
कार्यक्रममा मेचीनगर ४ का वडाध्यक्ष एवम् नेकपा एमाले जिल्ला कमिटी सदस्य अर्जुन कार्की, एमाले मेचीनगर १५ वडा कमिटी अध्यक्ष चेतराज बिष्टलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा मेचीनगर ११ का जनप्रतिनिधि वडा सदस्य श्याम सिवाकोटी, युवा संघ सञ्जय मेचे र रविन मेचेलगायतको आतिथ्यता रहेको थियो ।
राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटीका अध्यक्ष सुनिल राजवंशीको अध्यक्षतामा आयोजित कार्यक्रम सञ्चालन सचिव राकेश खवासले गरेका थिए ।

