समाचार

चिनियाँ अभिनेत्री सु चिङ बनिन् भ्रमण वर्षको सद्भावना दूत

काठमाण्डौं, कात्तिक २ । चिनियाँ अभिनेत्री सु चिङ नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत नियुक्त भएकी छिन् । शनिबार काठमाण्डौंमा आयोजित एक कार्यक्रममा हलिउड अभिनेत्री सुलाई सद्भावना दूत घोषणा गरिएको हो । सूले कार्यक्रम समारोहमा भनिन्– अब म नेपालको पर्यटन प्रवर्द्धनलाई सघाउँछु ।

पचास बर्षीय सू समारोहमा सामान्य पहिरनमा उपस्थित भएकी थिइन् तर देखिन्थिन् ३० पनि नपुगेकी सुन्दरी । सन् १९९० मा ‘लाइफ अन अ स्ट्रीङ्ग’ फिल्म खेलेपछि सूले कहिल्यै पछाडि फर्किएर हेर्न परेन । १८ वटा जति हिट फिल्ममा काम गरिसकेकी सूले सानो पर्दामा पनि उत्ति नै लोकप्रिय छिन् ।

वेइबोमा डेढ करोडभन्दा धेरै फलोअर भएकी सू नेपाल आएर सद्भावना दूत बनेपछि दंग देखिए संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्य ।

मन्त्री योगेशले सूलाई सद्भावना दूत नियुक्त गर्नु भ्रमण वर्षको एउटा ठूलो फड्को भएको बताए । सू जस्ती चर्चित नायिकाले नेपालको बारेमा अन्तर्राष्ट्रिय मञ्चमा बताउँदा राम्रो प्रभाव पर्ने र त्यसले भ्रमण वर्ष सफल बनाउन मद्दत पुग्‍ने धारणा उनले राखे ।

मन्त्री योगेशले नायिका सूको मावली नेपाल हो भने । उनको भनाई थियो– ‘नायिका सू नेपालकै चेली भृकृटीकी छोरी हुन् र नेपाल उनको मावली हो । नायिका सू ले चिनियाँ लगायत अन्य देशका नागरिकलाई मावली देश भ्रमणको लागि आग्रह गर्ने विश्वास लिएको छु ।’

नेपाल भ्रमण वर्ष २०२० सचिवालयका संयोजक सुरज वैद्यले सूलाई कार्यक्रमसँग जोड्न पाउँदा खुशी लागेको बताए । भ्रमण वर्ष कार्यक्रमसँग जोडिने प्रस्ताव नायिका सूले स्वीकार्नु अत्यन्त्यै सकारात्मक रहेको बताउँदै उनले भने –‘नायिका सू भ्रमण वर्षसँग जोडिनुबाट नेपालको प्रचार चीनमा बृहत् रुपमा हुने विश्वास छ । ’

नेपाली अर्थतन्त्रको आधार पर्यटन भएकाले भ्रमण वर्षको सफलता अन्त्यतै महत्वपूर्ण रहेको संयोजक वैद्यले बताए । नेपालका लागि चीन विभिन्न आयामबाट महत्वपूर्ण रहेको बताउँदै उनले तालका रुपमा रहेको काठमाडौंको पानी चोभारको डाँडा काटेर मन्जुश्रीले उपत्यकामा बस्ती बसाएको किंवदन्ती स्मरण गरे । भ्रमण वर्षसँग नायिका सू जोडिएपछि नेपालमा २० लाख मात्रै होइन दुई करोड पर्यटक भित्राउन पनि सकिने सुरजले विश्वास व्यक्त गरे ।

सू ले भ्रमण वर्षको सद्भावना दूतको रुपमा जोडिन पाउँदा खुशी व्यक्त गर्र्दै भनिन् – ‘भगवान बुद्धको जन्मभूमि नेपालको पर्यटन प्रवद्र्धन गर्ने अवसर पाएकोमा खुशी छु ।’

नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले नेपाल र चीनको सम्बन्ध गहिरो रहेको र चीनकी सेलिब्रेटीलाई भ्रमण वर्षसँग जोड्न पाउनु सकारात्मक भएको बताए । चिनियाँ जनता माझ नेपाल लोकप्रिय भएकाले नायिका सूले नेपालको प्रचार गर्दा पर्यटन क्षेत्रलाई फाइदा पुग्ने उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published.