झापा, माघ २० । नारी सञ्चार गृह झापाको आयोजनामा र मेचीनगर नगरपालिकाकाे सहयोगमा धुलाबारीस्थित मेची उद्योग बाणिज्य संघको सभाहलमा अाइतबार लैङ्गिक हिंसा र सुरक्षित सञ्चार सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएकी प्रदेश नं.–१ का सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले हिंसा अन्त्यका लागि महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनुपर्ने बताउनु भएको छ । मन्त्री गजमेरले परनिर्भरताका कारण महिला बढी हिंसामा पर्ने गरेको उल्लेख गर्दै महिलालाई आत्मनिर्भर बनाउनका लागि योजना बनाएरै आफू अघि बढ्ने बताउनु भयो ।

कार्यक्रममा विशेष अतिथि मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना पोखरेल उप्रेतीले लैंङ्गिक हिंसाका विषय उठान हुन थाले पनि अझैपनि बढीजसो महिलाहरु नै हिंसामा पर्ने गरेको आफूले पाएको बताउनु भयो । मेचीनगर नगरपालिकाको न्यायिक समितिका संयोजक समेत रहनु भएका उपप्रमुख पछिल्लो समय पुरुष हिंसाका उजुरी आउने गरेको भएपनि ८० प्रतिशत महिला हिंसाको चपेटामा परेको पाइएको जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटा लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
कार्यक्रममा समाजमा देखिएका हिंसाका प्रकृति, समाजको परम्परागत सोच विश्वमा महिला हिंसाको अवस्था लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो भने झापा जिल्लामा हिंसाको अवस्था र साइवर अपराधबारे झापाका प्रहरी प्रमुख कृष्णप्रसाद कोइरालाले जानकारी दिनु भएको थियो ।
कोइरालाका अनुसार ६७ प्रतिशत हिंसाका घटनाको कारण मदिरा रहेको छ भने अधिकतम घटनामा महिला पीडित रहेको पाइएको तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा मेचीनगर नगरपालिकाका न्यायिक समिति सदस्य इन्द्र प्रधान एबीसी नेपालकी कञ्चना ढकाल, उमा भण्डारी, सविता भण्डारी, यमनाथ बराल, शुष्मा भण्डारी, शर्मिला अधिकारी, विष्णु मैनालीले हिंसा न्यूनिकरणका लागि आगामी दिनमा गर्नुपर्ने कार्यबारे सुझाव प्रस्तुत गर्नुभएको थियो । सोही कार्यक्रममा झापाकी पहिलो महिला पत्रकार राधा शर्माले नारी संचारगृह झापाले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको नारी संचार प्रोत्साहन अक्षयकोषका लागि पठाउनु भएको ४० हजार रुपैयाँ हस्तान्तरण गरिएको थियो ।
पत्रकार शर्माका दाजु कणाखर चौलागाँई र रञ्जु प्याकुरेलले संस्थाका अध्यक्ष अम्बिका भण्डारी, अक्षयकोषका संयोजक भीमा शिवाकोटी, कोषाध्यक्ष शुशिला संग्रौलालाई संयुक्त रुपमा उक्त रकम हस्तान्तरण गरेका हुन् । बाहुनडाँगी निवासी शर्मा हाल अमेरिका बस्दै आउनु भएको छ । नारी सञ्चार गृहकी अध्यक्ष अम्बिका भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष भिमा शिवाकोटी र सञ्चालन सचिव रेजिना गौतमले गर्नुभएको थियो । ।

