झापा, फागुन ८ । मेचीनगरमा जारी निर्मल राई स्मृति जिल्ला स्तरीय अन्तर मावि भलिबल प्रतियोगिता अन्तर्गत आज क्वाटर फाइनल सम्मका खेलहरु सम्पन्न भएका छन् ।
आज भएको पहिलोे क्वाटर फाइनल खेलमा शनिश्चरे मावि अर्जुनधारा विजयी भएको छ । शनिश्चरे माविले होलीबेल अंग्रेजी माविलाई पराजित गर्दै सेमीफाईनलमा स्थान पक्का गरेको हो । त्यस्तै दोस्रो क्वाटर फाइनलमा मुनाल एकाडेमी चन्द्रगडिले इडन गार्डेन बिर्तामोडलाई सोझो सेटमा पराजित गर्दै सेमीफाइनलमा शनिश्चरे मावि संगको भेट पक्का गरेको हो ।
तेस्रो क्वाटर फाइनलमा थेसिस अंग्रेजी मावि विजयी भएको छ । थेसिस अंग्रेजी माविले हिमालयन एकाडेमी धुलाबारीलाई पराजित गरेको हो । आजनै सम्पन्न अन्तिम क्वाटर फाइनलमा आयोजक अरुणोदय आवासीय मावि विजयी भएको छ । आयोजक अरुणोदयले तारापुञ्ज अंग्रेजी मावि काँकरभिट्टालाई पराजित गरेको हो ।
तारापुञ्ज मावि र आयोजक अरुणोदय मावि बिचको अन्तिम क्वाटर फाइनल खेल हेलोजन लाइटको प्रयोग गरि संध्याकालिन समयमा खेलिएको खेल संयोजक राजकुमार बिश्वकर्माले बताउनु भयो । प्रतियोगिताको दोस्रो दिन ११ वटा खेल सञ्चालन गर्नका लागि समयको अभावका कारण खेल सन्ध्या कालिन समय सम्म धकिलिएको खेल संयोजक बिश्वकर्माले जानकारी दिनु भयो ।
यस अघि आजै भएको पहिलो खेलमा आदर्श बिद्या मन्दिर इटाभट्टालाई हराउँदै वन्डर ल्याण्ड इंगलिस स्कूल विजयी भएको थियो । दोस्रो खेलमा आयोजक अरुणोदय आवासीय मावि विजयी भएको छ । अरुणोदयले फाक्तालुङ दुर्गापुरलाई हराएको हो ।
तेस्रो खेलमा धुलाबारी माविलाई हराउँदै मुनाल एकाडेमी चन्द्रगडि विजयी भएको छ । चौथो खेलमा अरुणोदय माविले सुर्योदय अंग्रेजी माविलाई हराएको हो । पाँचौ खेलमा टावर टेम्पल स्कूल बिर्तामोडलाई हराउदैं होलीबेल अंग्रेजी मावि विजयी भएको थियो । छैटौ खेलमा आदर्श बिद्या मन्दिर लाई हराउदै थेसिस अंग्रेजी मावि विजयी भएको थियो । सातौं खेलमा इडन गार्डेन अंग्रेजी माविले शनसाइन अंग्रेजी माविलाई हराउदै अघिल्लो चरणमा प्रवेश गरेको थियो । इडर्न गार्डेन क्वाटर फाइनलमा मुनाल एकाडेमी चन्द्रगडिसंग पराजित भएको थियो ।
हिजोबाट जारी प्रतियोगिता भोली सकिने छ । प्रतियोगिताको समापन समारोह जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलको प्रमुख आतिथ्यतामा सम्पन्न हुने आयोजक बिद्यालयका प्रध्यानाध्यापक दुर्गाबहादुर लुइटेलले जानकारी दिनु भयो । फाइनल खेल अघि पत्रकार र शिक्षक बिच मैत्रीपुर्ण खेल हुनेछ ।
जिल्लाका २३ वटा बिद्यालय सहभागी प्रतियोगिताको विजेताले नगद रु २० हजार तथा उपविजेता टिमले नगद रु १० हजार प्राप्त गर्नेछ । प्रतियोगिताका बिभिन्न बिधाका उत्कृष्ट खेलाडि समेत पुरस्कृत हुने बताईएको छ ।

