काठमाडौं, जेठ १८ । संखुवासभामा पहिलो पटक कोरोना पुष्टि भएसँगै देशका सातवटै प्रदेशका ७७ मध्ये ५३ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । प्रादेशिक विवरण अनुसार प्रदेश नं. २ मा सबैभन्दा बढी संक्रमित रहेका छन् भने सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रदेश नं. १ का ८ जिल्लामा संक्रमण फैलिँदा १६० जनामा कोरोना पुष्टि भएको छ । यस्तै प्रदेश नं. २ का सबै (८) जिल्लाका ५४७ जना (एकको मृत्यु), बाग्मती प्रदेशका १२ जिल्लामा ४५ जना (दुईको मृत्यु), गण्डकी प्रदेशका ५ जिल्लामा २० जना, प्रदेश नं. ५ का ९ जिल्लामा ५४७ जना (तीनको मृत्यु), कर्णाली प्रदेश ३ जिल्लामा ६१ जना र सुदूरपश्चिम प्रदेशका ७ जिल्लामा २१ जना संक्रमित रहेका छन् ।
नेपालमा शनिबार रातीसम्म कोरोना संक्रमितको संख्या १ हजार ४०१ पुगेको छ । नेपालमा शनिबारमात्रै १८९ जना संक्रमित थपिएका हुँन् । कुल संक्रमितमध्ये १ हजार २८८ पुरुष र ११३ जना महिला रहेको प्रवक्ता डा.देवकोटाले जनाए ।
जसमध्ये ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोककी २९ वर्षीय महिला, बाँकेका २५ वर्षीय युवा, गुल्मीका ४१ वर्षीय पुरुष, बाराका ७० वर्षीय पुरुष, ललितपुर महानगरपालिका वुङमती–२२ का ५६ वर्षीय पुरुष र अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका ३५ वर्षीय पुरुष रहेका छन् । जेठ ११ गते नै मृत्यु भएका अर्घाखाँचीका पुरुषको बिहीबार मात्रै संक्रमण पुष्टि भएको थियो ।
२१९ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

