रूबिना बिस्ट (कमल गाउँपालिका, झापा)
आजभोली यी पाउ छैनन् ठेगानामा,
छैनन् गन्तव्य
छैनन् यी ओठमा मुस्कान
बोलीमा लवज छैन
अनुहारमा चमक छैन
हिँड्छु नि सपना बोकी
तर के गर्नु हिड्नुको औचित्यै छैन,
आज पनि त उसैगरी म रबर बन्न खोज्छु
तिमी फलाम बन्न खोज्छौ,
खोज्छौ ,बन्न काडेतार
अनायासै काडारूपी नजरले घोच्छौ
मलाई घोच्छौ त्यसै त्यसै जताततै । । । ।
तिम्रा ति घोचाईहरूले दिएका
दुखाई नाप्न एल्गोमिटरले पनि
हरेस खाएको छ, हो मलाई
मेरै छायाँदेखि डर लाग्न थालेको छ,
थालेको छ लाग्न डरः
पुरूषदेखि ,
पुरूषत्वरेखि
षुरूषको स्पर्शदेखि
पुरूष आवाजदेखि
अँध्यारोदेखि
सूर्यको किरणदेखि
सिकारी नजरदेखि
भोकदेखि
अनि मलाई त्यो भन्दा पनि हजारौ गुणा बढी डर
मानव समाजदेखि लाग्न थालेको छ ,
अनुत्तरित प्रश्नहरूदेखि डर लाग्न थालेको छ
हो मलाई डर लाग्न थालेको छ
डरदेखि पनि डर लाग्न थालेको छ।

