स्वास्थ्य

जाडोमा कसरी स्वस्थ रहने ? यस्ता छन् उपाय

काठमाडौं, मंसिर ९ । अहिले जाडो मौसमको सुरुवात हुँदैछ । दिउँसो समयमा हल्का घाम लागेर न्यानो भएपनि बेलुका र बिहान चिसो हुन थालेको छ । जाडोमा आफूलाई स्वस्थ राख्न सबैले सावधानी अपनाउनु आवश्यक हुन्छ । जाडो मौसममा शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले यसलाई बढाउनका लागि केहि प्राकृतिक वा घरेलु विधी अपनाउन सकिन्छ । यसले प्राकृतिक रुपमै हामीलाई न्यानो राख्नुका साथै बाह्य जाडोबाट शरीरलाई बचाउँने गर्छ र रोगसँग लड्ने क्षमताको बृद्धि पनि गर्छ ।

यस्ता छन् जाडोमा स्वस्थ रहने उपाय :-

छालाको हेरचाहः
चिसोमा छालालाई बढी हेरचाह गर्नुपर्छ । चिसोले सबैभन्दा बढी छातीमा असर गर्ने भएकाले शरीर ढाक्ने न्यानो लुगा लगाउनुपर्छ । सकेसम्म हातखुट्टा र अनुहार पनि ढाक्नुपर्छ । नाकमुख छोप्ने मास्क र गाला, कान तथा गला ढाक्ने टोपी लगाउनुपर्छ । हिँडडूल गर्दा चश्मा लगाउनु आँखाका लागि राम्रो हुन्छ । शरीरका अरु अंग ढाके पनि अनुहारको त्यति ख्याल गरिएको पाईंदैन । तर, अनुहारको पनि उत्तिकै हेरविचार गर्नुपर्छ ।

खानपानमा ध्यानः
जाडोमा घाममा बस्ने तथा आगो या हिटर ताप्ने भएकाले शरीरभित्र पानीको मात्रा कम हुन जान्छ । त्यसकारण चिसोमा पानी लगायतका झोलिलो कुरा बढी सेवन गर्नुपर्छ । तर चिसो होइन, तातोमा जोड दिनुपर्छ । पानी पनि तताएर पिउनुपर्छ । खानेकुरा पनि तातो नै खानुपर्छ । तातो झोल र प्रोटिनयुक्त खानेकुरा खानु स्वास्थ्यका लागि राम्रो हुन्छ ।

योबेला चुरोट, बिडी, चिया कफी र मदिरा बढी सेवन गर्ने चलन छ । जुन स्वास्थ्यका लागि राम्रो होइन । यसले क्षणिक रुपमा तातो भएको जस्तो लागे पनि त्यस्तो हुँदैन । स्वास्थ्यलाई नकारात्मक असर गर्छ । चिया र कफीको मात्रा कम हुनु राम्रो हुन्छ । जाँडरक्सी र चुरोटबिडी त सेवन नै गर्न हुँदैन ।

आगो र हिटरको प्रयोग कमः
जाडोमा आगो ताप्नु राम्रो भए पनि हिटरले नकारात्मक असर पुर्याउन सक्छ । झ्यालढोका थुनेर हिटर बाल्न हुँदैन । एकछिन कोठा तताएर निभाउनुपर्छ । नत्र कार्बन मोनोअक्साईड ग्यासले श्वासप्रश्वाससम्बन्धी रोग निम्त्याउनुका साथै मान्छेको ज्यानै जाने सम्भावना समेत हुन्छ । आगो पनि धेरै ताप्न हुँदैन । घाम ताप्नु सबैभन्दा उपयुक्त हुन्छ ।

चिसो र तातोको सन्तुलनः
चिसोबाट एकैपटक धेरै तातो पार्दा शरीरलाई बेफाइदा हुन्छ । त्यसैले धेरै चिसो भएको छ भने एकैपटक आगोको छेउमा जान हुँदैन । शरीरलाई बिस्तारै तातो बनाउनुपर्छ । तातोपानीले नुहाउनु राम्रो भए पनि पानीलाई शरीरले सहनसक्ने मात्र बनाउँदा राम्रो हुन्छ । अर्थात मन तातोभन्दा पनि कम तातो भएको पानी उपयुक्त हुन्छ ।

रुघाखोकीलाई औषधि हैनः
सामान्य रुघाखोकीका लागि औषधिभन्दा घरेलु उपचार नै राम्रो हुन्छ । तातोपानी, पानीको बाफ र झोल खानेकुराले रुघाखोकी निको पार्छ । रुघाखोकी लाग्दा सकभर बाहिर ननिस्कँदा राम्रो । निस्कनै परे रुमालले नाकमुख छोप्नुपर्छ । स्वस्थ मान्छेले रुघाखोकी लागेको मान्छेबाट टाढा बस्नुपर्छ । ज्वरो नै आयो भने स्वास्थ्य संस्थामा जाँच गर्न जानुपर्छ । रुघाखोकीका लागि मात्रै चाहिँ घरेलु उपचार नै उपयुक्त हुन्छ । तर, एकहप्ताभन्दा बढीरुघाखोकी लागिरहृयो भनेचाहिँ जाँच गराउन जानुपर्छ ।