खेलकुद

मेसीको दबदवा कायमै

एजेन्सी – बार्सिलोनाका कप्तान लिओनेल मेसी र फ्रान्सेली युवा फरवार्ड ओस्मान डेम्बेलेले जारी सिजन ४३ गोल गरेका छन् । बार्सिलोनाको उत्कृष्ट प्रदर्शनमा यी दुई खेलाडीको प्रदर्शन नै निर्णायक सावित हुँदै आएको छ ।

डेम्बेलेले मेसीको खेल शैलीको प्रश्नासा गर्दै उनको उपस्थितिले खेल्न सजिलो हुने बताएका छन् । ‘ मेसी उत्कृष्ट खेलाडी हुन् । उनको उपस्थितिले फुटबल खेल्न नै सहज हुन्छ,’ उनले भने, ‘मैले दिएको सहज पासमा उनले अनेक कार्य गरिरहेका हुन्छन् । उनी खेलमा हुँदा विपक्षी टोलीले उनलाई धेरै ध्यान दिने हुनाले पनि मलाई अझै सहज हुन्छ । ‘ मेसीले जारी लिगमा २२ गोल गर्दै सर्वा्धिक गोलकर्ताको सुचिमा शीर्ष स्थानमा रहेका छन् ।

बोरुसिया डर्टमुन्डबाट बार्सिलोना आइपुगेका डेम्बेलेलाई सिजनको सुरुवातमा निकै कठिन भएको थियो । चोटका कारण केहि खेल गुमाएका उनले अनुशासन कारवाही पनि खेपेका थिए । पछिल्लो समय भने उनको प्रशिक्षक एर्नेस्टो भालभेर्डेसँग सम्बन्ध सुमधुर रहेको छ । उनले लगातार राम्रो प्रदर्शन गर्दै पीएसजी लागेका नेयमारको स्थान पनि लिइसकेका छन् ।

बार्सिलोनाले च्याम्पियन्स लिगको खेलमा मंगलबार लियोनको सामना गर्दैछ । डेम्बेलेले फ्रान्समा रेन्नेसबाट खेल्दा लियोनको सामना गरिसकेका छन् । ‘लियोन राम्रो टोली हो । उनीहरुको मैदानमा गएर इतन हामीले निकै मिहिनेत गर्नुपर्छ । लियोनले म्यानचेस्टर सिटी र पीएसजीलाई पराजित गरेर आफ्नो स्तर प्रमाणित गरिसकेको छ,’ उनले थपे ।

बार्सिलोना जारी सिजन सहभागी भएको सबै प्रतियोगिताको उपाधि होडमा रहेको छ । लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाले कोपा डेल रे को पहिलो लेगमा पनि रियल म्याड्रिडसँग बराबरी खेलेको छ । तेहेरो उपाधि जित्ने सुरमा रहेको बार्सिलोनाले मुख्यतस् च्याम्पियन्स लिगमा धेरै ध्यान दिने डेम्बेलेले बताए ।

Leave a Reply

Your email address will not be published.