युवराज आचार्य
झापा, अषाढ १७ । सन्दीप लामिछानेले सांगीतिक क्षेत्रमा सक्रिय हुँदै ‘मेमोरी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने पछिल्लो समय खेलकुद संगै सांगीतिक क्षेत्रमा पनि क्रियाशील भई रहेका छन् । क्रिकेटको माध्यमबाट चर्चामा रहेका लामिछानेको समर्थक र प्रशंसकको संख्या ठुलो छ, उनिहरुलाई उपहार स्वरुप लामिछानेले मायालु एल्बम अन्तर्गत ‘मेमोरी’ गीतको म्यूजिक भिडियो ल्याएको बताए । सफल खेलाडीको पहिचान बनाउन सफल उनी अब गायक संगैं मोडलमा पनि देखा परेका छन् ।

आफ्नै यूट्यूव च्यानल मार्फत बजारमा ल्याइएको उक्त म्युजिक भिडियोमा क्रिकेटर सन्दीप लामिछाने, संगै सोमपाल कामी, रमन सिवाकोटी, दिपेन्द्र ऐरी, प्रदिप क्षेत्री, दिनेश भट्ट, अनिस काफ्ले जितेन्द्र ठकुरी, बाल कलाकार सुधिन घिमिरे र प्रतिक भण्डारीको अभिनय रहेको छ । लामिछानले सार्वजनिक गरेको उक्त गीतले अहिले दोस्रो दिनमा नै राम्रो सफलता पाईरहेको छ ।

ज्ञानेन्द्र शर्मा हुमागाईको छायंकन तथा निर्देशन रहेको म्युजिक भिडियोको सम्पादन विकास गौलीले गरेका हुन् । सचिन फुयालको कन्सेप्ट रहेको ‘मेमोरी’ गीतमा उल्लास मंग्रान्तीको शव्द रहेको छ । राजन मगरले एरेञ्ज गरेका सो गीतमा मगर र लामिछानेको संगीत रहेको छ ।

