झापा, असोज १३ । नेपाल खेलकुद पत्रकार मञ्च, झापाले तेस्रो झापा स्पोर्टस् अवार्ड आज विर्तामोड स्थित आदर्श ब्याङ्क्वेटमा एक कार्यक्रका बिच सार्वजनिक गर्दै छ । खेल क्षेत्रमा लागेर प्रत्यक्ष रुपमा खेलकुदको विकास र विस्तारका लागि अनवरत लागि रहेका प्रशिक्षक, खेलाडी तथा खेल क्षेत्रमा आवद्ध भएका मध्ये उत्कृष्टलाई मञ्चले स्पोर्टस् अवार्ड प्रदान गर्ने गरेको छ ।
मञ्चले गत असोज ३ गते मनोनयनमा परेका १२ जना खेलाडी तथा प्रतिभाको नाम सार्वजनिक गरेको थियो । प्रतिभाको लोकप्रियताको आधारमा अन्य दुई विधामा भने छनौट समितिले आज नै एक–एक जनालाई सिधैं छनौट गर्ने मञ्चकी सहसचिव भुमिका सुब्बाले बताईन् ।

झापा स्पोर्ट अवार्ड २०७५ तथा प्रतिभा छनौट समितिले तेस्रो संस्करणका लागि मनोनयनमा वर्ष खेलाडी पुरुषतर्फ उमेश राई शारीरिक सुगठन, राम दाहाल शारीरिक सुगठन र नवयुग श्रेष्ठ फुटबल रहेका छन् । वर्ष खेलाडी महिला तर्फ एस्तर राई कराते, अञ्जिला तुम्वाम्फो सुब्बा फुटबल र विनिता बुढाथोकी भलिबल रहेका छन् । उनीहरुलाई पुरुष खेलाडीका लागि एक–एक थान मोटरसाइकल र महिला खेलाडीका लागि एक–एक थान स्कुटर प्राप्त गर्ने छन् ।
वर्ष उत्कृष्ट युवा खेलाडीका रुपमा छिरिङ गुरुङ फुटबल, अप्सरी बेगम क्रिकेट र अमिता गिरी ब्याडमिटन रहेका छन् । त्यस्तै उत्कृष्ट प्रशिक्षकका रुपमा हरि खड्का फुटबल, डम्बर बहादुर लिम्बू बक्सिङ र योगेश चाम्लिङ कराते रहेका छन् । युवा खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई नगद २५ हजार र ट्रफि प्राप्त गर्ने छन् ।
पिपुल्स च्वाइट अन्तर्गत एक खेलाडीलाई २५ हजार र लाइफ टाइम एचिभ्मेनट अवार्डसहित एकजनालाई ३५ हजार रुपैयाँ प्रदान गरिने आयोजक समितिका अध्यक्ष हिमालचन्द्र खरेलले जानकारी दिए ।
अवार्डलाई स्थापनाकालदेखि नै एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले आफ्ना भाइ पूर्व फुटबलर स्व. आशिषविक्रम नेम्वाङको स्मृतिमा एकलाख रुपैयाँ प्रदान गर्दै आएका छन् ।
त्यस्तै सहारा नेपाल साकोसले दुई लाख रुपैयाँ प्रदान गर्दै आएको र अग्रज समाजसेवी तथा झापा ११ का अध्यक्ष जलकुमार गुरुङले दोस्रो स्पोर्ट अवार्डमा आमा स्व. राजकुमारी गुरुङ, बुबा स्व. बलबहादुर गुरुङ र भाउजु स्व. तिलमाया गुरुङको स्मृतिमा एक थान स्कुटर र मोटरसाइकल प्रदान गरेको मञ्चका कोषाध्यक्ष राजु पौडेलले बताए ।
अवार्डमा २०७५ सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त मेची अञ्चलका झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका प्रशिक्षकलाई सहभागी गराइएको अवार्ड संयोजक बुद्ध तामाङ्गले जानकारी दिए ।

