दिलिप थापा
झापा, चैत २९ । नेकपाका युवा नेता बालकृष्ण थापाले शुक्रबार ४५ हजार रुपैयाँ मूल्य बराबरको राहत सामग्री वितरण गरेका छन् ।
कोरोना भाइरसको जोखिमलाई ध्यानमा राख्दै सरकारले घोषणा गरेको लक डाउनबाट समस्यामा परेका विपन्न परिवारलाई उनले राहत प्रदान गरेका हुन् ।
समाजसेवी थापाका अनुसार दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउँदै आएका परिवार लक डाउनबाट मारमा परेकाले पहिचान गरी राहत स्वरुप खाध्यान्न सहयोग गरिएको हो।
लक डाउन घोषणा भएदेखि नै राहत वितरणमा सक्रिय रहँदै आएको थापा नेतृत्वको टोलीले शुक्रबार मात्र मेचीनगर ६ स्थित पूर्व क्षीतिज टोल विकास संस्थाका १४, बौद्व टोल विकास संस्थाका ८, शान्ति गाउँका ६, रमाइलो गाउँका ११ र काँकरभिट्टामा रहेका पर्यटन मजदुरका ७ घर परिवारलाई राहत दिएको छ । ती विपन्न वर्गीय परिवारलाई चामल, दाल, आलु, नुन र खानेतेल वितरण गरिएको टोलीमा सहभागी जिल्ला ट्राभल संघका अध्यक्ष नेत्र कार्कीले बताए ।
त्यस्तै, सो टोलीले शुक्रबार नै धुलाबारीमा रहेका १७ भारतीय र अन्य नेपाली गरी ४० जना निमार्ण मजदुरलाई दैनिक उपभोग्य खाद्य वस्तु हस्तान्तरण गरेको छ । उनीहरुलाई ३० केजी चामल, ५५ केजी आलु, दाल र नुन ३र३ केजी तथा खानेतेल ३ लिटर दिइएको बताइएको छ ।
राहत वितरणका क्रममा देवकोटा पार्क व्यवस्थापन समितिका सचिव शेखर काजी थापा, युवा व्यवसायी नारायण पराजुलीलगायतको उपस्थिति थियो ।

