काठमाडौं, जेठ ५ । नेपालमा थप ५३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार बाँकेमा ४७ जनासहित देशका विभिन्न भागमा कोरोनाभाइरसका ५३ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ३ सय ५७ पुगेको छ।
मन्त्रालयद्वारा आयोजित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले भेरी अस्पतालको प्रयोगशालामामा गरिएको पीसीआर परीक्षणबाट बाँकेमा ४६ पुरुष र एक महिलामा संक्रमण पुष्टि भएको जानकारी दिए।
यस्तै, धुलिखेल अस्पतालमा गरिएको परीक्षणबाट चार जनामा संक्रमण देखिएको छ। उनीहरु धनुषा, रौतहट, दाङ र धादिङका पुरुष रहेको प्रवक्ता डा.देवकोटाले बताए।
विराटनगरमा गरिएको परीक्षणबाट मोरङमा एक पुरुष र भैरहवाको प्रयोगशालामा गुल्मीका ४१ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको छ।
सोमबार संक्रमित पुष्टि हुनेहरु १८ देखि ४६ वर्षसम्मका पुरुष रहेको मन्त्रालयले जनाएको छ। हालसम्मका कुल ३ सय ५७ जना संक्रमितमध्ये २ सय ९८ पुरुष छन् भने ५९ जना महिला छन्। यसअघि सोमबारै बिहान रौतहटमा सात पुरुष र एक महिला तथा र बारामा एक पुरुष गरी नौ जनामा संक्रमण पुष्टि भएको थियो।
संक्रमितमध्ये हालसम्म ३६ जना निको भएका छन् भने दुई जनाको मृत्यु भएको छ।

