झापा, साउन ३ । निजी बिद्यालय संगठन प्याब्सन र एनप्याब्सन कमल समितिले कमल गाउँपालिकालाई संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।

संगठनको केन्द्रिय नेतृत्वको निर्देशन बमोजिम कमल गाउँपालिका भित्र रहेका निजी बिद्यालयहरुका सबै गतिविधि बन्द गर्ने जानकारी ध्यानाकर्षण पत्रमार्फत गराइएको छ ।
प्याब्सन कमल अध्यक्ष बदीराम राई र एनप्याब्सन अध्यक्ष हजेन्द्र बस्नेतद्वारा हस्ताक्षरीत पत्रमा भनिएको छ, कोभिड १९ बाट सृजित समस्याको समाधानार्थ छाता संगठनले सरकार समक्ष गरेको आग्रहको बेवास्था गरिएको र त्यसबाट बिद्यालयहरुलाई दायित्व पुरा गर्न अफ्ठ्यारो पर्दै गएका कारण हाल सञ्चालनमा रहेका सिकाईका वैकल्पिक विधिहरु अर्को सुचना जारी नभईजेल सम्मका लागि बन्द रहनेछ’ ।
ध्यानाकर्षण पत्रमा पठनपाठनलाई सुचारु गर्न नयाँ बिद्यार्थी भर्ना, बिद्यार्थीको अभिलेखिकरण गर्न र पाठ्य पुस्तक तथा शैक्षिक सामग्री ब्यवस्थापन गर्ने वातावरण मिलाईदिन भनिएको छ ।

त्यस्तै अनलाईन कक्षा र भर्चुअल कक्षाहरुको पहुँचमा बिद्यार्थीहरु आउन नसकेको बताउँदै कोभिड १९ को प्रभावको अध्ययन गरी यथासम्भव जोर–विजोर वा आलोपालो प्रणालीमा कक्षा सञ्चालन गर्ने ब्यवस्था मिलाईदिन गाउँपालिकालाई ध्यानाकर्षण गराइएको छ ।
क्वारेन्टिनको रुपमा प्रयोग भएका बिद्यालयहरुको स्थानान्तरण, वहाल कर एवं ब्यवसायीक कर लागयतको महशुलमा छुट दिन, सार्वजनिक बिदा कटौती गरी नयाँ शैक्षिक क्यालेन्डरको निर्माण एवं शिक्षा नियमावलीले तोके बमोजिमको तोकीएको जिम्मेवारी पुरा गर्ने सवालमा शुल्कहरु संकलन गर्न पाउने ब्यवस्था सार्वजनिक गर्न भनिएको छ ।

साथै निजी बिद्यालयहरुले शैक्षिक शत्र २०७६ को बाँकी वक्यौता र २०७७ को कुनै पनि शुल्क नलिन सरकारले गरेको निर्देशनबाट कठिनाई उत्पन्न भएको भन्दै शिक्षक–कर्मचारीको तलव–भत्ताको ब्यवस्थापनमा उचित सहयोग गर्न समेत अनुरोध गरिएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले संगठनको तर्फबाट आफुहरुको ध्यानाकर्षण भएको बताउँदै, उचित मागको सम्बोधन गराउने सन्दर्भमा कमल गाउँपालिका नेतृत्व समक्ष जानकारी गराईने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
सो अवसरमा प्याब्सन झापाका बरिस्ठ उपाध्यक्ष गौरीमान फागो, उपाध्यक्ष रामहरी घिमिरे, एनप्याब्सन प्रदेश सदस्य गिरीराज बस्नेत, प्याब्सन जिल्ला सदस्य झरेन्द्र खतिवडा, कमल प्याब्सन अध्यक्ष बदिराम राई, एनप्याब्सन अध्यक्ष हजेन्द्र बस्नेत, लगायत सबै २९ संस्थागत विद्यालयका संस्थापक प्रिन्सिपलहरूको उपस्थिति रहेको थियो । कमल प्याब्सन अध्यक्ष बदिराम राईले ध्यानाकर्षण पत्रका विषयमा संस्थागत विचारहरू राख्दै ७ बुँदे ज्ञापन पत्र गा.पा अध्यक्षलाई संयुक्त रूपमा बुझाउनुभयो ।
ध्यानाकर्षण पत्र हस्तान्तरणको क्रममा कमल गा.पा शिक्षा शाखा प्रमुख सुर्य न्यौपाने र अध्यक्ष मेनुका काफ्लेले अब कमल गा.पा.ले संस्थागत विद्यालयहरू सञ्चालनको विषयमा गम्भीरतापूर्वक लाग्ने बताउनुभयो ।

