खेलकुद

आईपीएल: कोलकत्ताद्वारा राजस्थान पराजित

काठमाडौं, असोज १५ । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकत्ता नाइट राइडर्सले आफ्नो दोस्रो जित निकालेको छ । बुधबार राति भएको खेलमा कोलकत्ताले राजस्थान रोयल्सलाई ३७ रनले पराजित गर्दै दोस्रो जित निकालेको हो ।

दुबई रंगशालामा कोलकत्ताले दिएको १७५ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभर खेल्दा ९ विकेटको क्षतिमा १३७ रन मात्र बनायो ।

राजस्थानका लागि टोम कुरानले अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जिततर्फ धकेल्न सकेनन् । कुरानले ३ छक्का र २ चौकाको सहायतामा अजिसवत ५४ रन जोडेका थिए ।

यसैगरी जोस बट्लरले २१ रन बनाउँदा राहुल टेवाटियाले १४ रन जोडे । अन्य खेलाडीले भने दोहोरो अंकको रन जोड्न सकेनन् ।

कोलकत्ताका भरुण चक्रवर्ती, शिवम माभी र कमलेस नगरकोटीले समान २–२ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको कोलकत्ताले निर्धारित २० ओभर खेल्दा ६ विकेटको क्षतिमा १७४ रन बनायो ।

कोलकत्ताका लागि शुम्नम गिलले ४७ रन बनाए भने इयोन मोर्गानले अजिवित ३४ रन बनाए । आन्द्रे रुसेलले २४ रन जोड्दा नीतिष रानाले २२ तथा सुनिल नारिनेले १५ बनाए ।

प्याट कुमिन्सले १२ रन बनाउँदा कमलेश नगरकोटीले ८ रन जोडे ।

बलिङतर्फ जोफ्रा अर्चरले दुई विकेट लिँदा अंकित राजपुत, जयदेव उनादकात, टोम कुरान र राहुल टेवाटियाले समान एक–एक विकेट लिए ।

जितसँगै ३ खेलबाट ४ अंक जोड्दै कोलकत्ता लिगको दोस्रो स्थानमा उक्लिएको छ । यसअघि कोलकत्ताले आफ्नो पहिलो खेलमा मुम्बई इन्डियन्ससँग ४९ रनले पराजित भएको थियो भने दोस्रो खेलमा कोलकत्ताले सनराइजर्स हैदराबादलाई ७ विकेटले हराएको थियो ।

यता, समान ४ अंकसहित तेस्रो स्थानमा रहेको राजस्थानको यो पहिलो हार हो । उसले यसअघि पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई १६ रनले हराएको थियो भने दोस्रो खेलमा किंग्स एलेभेन पन्जाबलाई ४ विकेटले हराएको थियो ।