


काठमाडौं, कात्तिक २६ । मुम्बई ईण्डियन्सले किर्तिमानी पाँचौ पटक ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको उपाधिका जितेको छ ।
१३ औ संस्करणको फाईनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउदै डिफेण्डिङ च्याम्पियन समेत रहेको मुम्बईले उपाधि रक्षा गरेको हो । पहिलो पटक फाईनलमा स्थान बनाएको दिल्ली भने उपविजेतामै सिमित बनेको छ । योसंगै जारी सिजन भएका चारै भेटमा मुम्बईले दिल्लीलाई पराजित पनि गरेको छ ।



दिल्लीले दिएको १ सय ५७ रनको मध्यम चुनौती मुम्बईले ८ बल अगावै ५ विकेट गुमाएर भेट्टायो । कप्तान रोहित शर्माले ६८, ईशान किशानले अबिजित ३३, क्वीन्टन डि ककले २० र सुर्यकुमार यादवले १९ रनको योगदान दिए । दिल्लीका एनरिच नोर्टजेले २ तथा कागीसो रावाडा र मार्कुस स्टोईनिसले समान एक विकेट लिए । यादव रनआउट भएका थिए ।
यसअघि दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेको दिल्ली क्यापिटल्सले ७ विकेट गुमाएर १ सय ५६ रनको मध्यम योगफल तयार पारेको थियो ।
कप्तान श्रेयस ऐरले अबिजित ६५ र रिषब पन्तले ५६ रन बनाउदै दिल्लीलाई सम्मानजनक योगफलसम्म पुर्याए । शिखर धवनले १५ रन जोडे । दिल्लीका अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् । मुम्बईका ट्रेन्ट बोउल्टले ३ तथा नाथन काउल्टरले २ विकेट लिए । जयन्त यादवको नाममा एक विकेट रह्यो । मुम्बईले क्वालिफायरमा पनि दिल्लीलाई नै हराउदै उपाधि यात्रा तय गरेको थियो ।
दिल्लीले दोस्रो क्वालिफायरमा सनराईजर्स हैदरावादलाई हराउदै मुम्बईसंगको फाईनल भिडन्त पक्का गरेको थियो ।







