अन्य

होटल मेची क्राउनले ल्याएको प्रतिबन्धित भारतीय नोटसहीत पाँचजना पक्राउ , संचालक सापकोटाले प्रहरी धम्काए

झापा । शसस्त्र प्रहरीले झापाको मेचीनगरमा संचालित होटल मेची क्राउनले नेपाल भित्राएको प्रतिबन्धित भारतीय रुपँया सहित पाचँ जनालाई पक्राउ गरेको छ । शनिबार शसस्त्र प्रहरीले जोरसिमल स्थित चेक प्वाइन्टमा चेकजाचँका क्रममा पाँचलाख एक्काइस हजार भारतीय रुपँया सहित पाचँजनालाई पक्राउ गरेको हो ।

पाँचतारे होटल होटल मेची क्राउनले रिर्जभ गरेको टोयटा कम्पनीको डब्लु बि ७४ बि एच १६४३ नम्बरको इनोभा कारमा लुकाइ छिपाई नेपाल भित्राइएको दुईहजार र पाँच सय दरका प्रतिबन्धित नोट सहित भारत असाम तिनसुकिया बस्ने आनन्द कुमार सदेका, सोही स्थानका प्रमोद जलान, मनोज अग्रवाल, अशोक अग्रवाल र खोरीबारी बस्ने सवारी चालक अभिजीत सिंह पक्राउ परेका हुन । उनिहरुको साथबाट बरामद गरिएको नगद, सवारी र उनिहरुसहित थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाइएको शसस्त्र प्रहरी श्रोतले जानकारी दिएको छ । पक्राउ परेकाहरुको साथबाट प्रतिबन्धित २ हजार दरका एक सय एक र पाँच सय दरका ६ सय अठतिस थान भारतीय रुपँया वरामद गरीएको हो ।

यता, आफुले नाकामा सेटीङ गरी नेपाल छिराएको प्रतिबन्धित नोट जोरसिमल चेक प्वाइन्टमा खटिएका प्रहरीले पक्राउ गरेपछी आक्रोसित मुद्रामा चेक प्वाइन्ट पुगेका होटलका संचालक बले भन्ने बलाराम सापकोटाले डिउटीमा खटिएका शसस्त्र प्रहरीलाई धम्काएका छन् । उनले दुईजना पत्रकारलाई आफै भात खुवाएर तिमीहरुको निगरानी गर्न पठाउने भन्दै थर्काएका हुन् ।

सापकोटाले पावर लगाएर सबै प्रहरीको सरुवा समेत गरीदिने धम्की दिएको एक प्रहरीले बताए । सापकोटाले डिउटीमा खटिएका प्रहरी कर्मचारीलाई थर्काउदा बिओपी काकडभिट्टाका प्रमुख इन्सपेक्टर प्रेम कुमार राई निरिह भएर होटलका संचालक सापकोटा अगाडी प्रस्तुत थिए । प्रहरीलाई धम्काएको कुरा सापकोटाले भने अस्विकार गरे । उनले धम्काउन नभई बुझन मात्रै चेकप्वाइन्ट गएको बताए ।

यस्तै, भारतीय सिमा नजिकै खोलीएको यो पाँचतारे होटलले पटक–पटक गलत धन्दा चलाउदै आएपनि काकडभिट्टा नाकामा खटिएका प्रहरी कर्मचारी मुखदर्शक बन्ने गरेका छन् । होटलले बिभिन्न बहानामा भारतबाट भाडामा सामान ल्याउने र भन्सारमा कम मुल्याङ्कन गरी सोही बराबरको धरौटी मात्रै राखेर भारतीय अबैध सामान यतै राख्ने गरेको स्रोतले बताएको छ । अबैध धन्दा चलाउन होटलले बिओपीलाई मासिक सेटीङ मिलाएको प्रहरीहरुले नै बताउने गरेका छन् ।