काठमाडौं । फिल्म ‘प्रेमगीत ३’ असोज ७ देखि भारत र नेपालमा एकैसाथ प्रदर्शनमा आउने भएको छ ।
हिन्दीमा डब गरेर ‘विश्वजितम्’ शीर्षकमा प्रदर्शन हुने भनिएको फिल्म ‘प्रेमगीत ३’ले भारतमा पनि प्रदर्शन मिति तय गरेको हो । फिल्म अब भारतमा पनि एउटै नाममा प्रदर्शन हुने भएको छ । निर्माता तथा निर्देशक सन्तोष सेनले सोमबार फिल्म भारतमा पनि असोज ७ मा प्रदर्शन हुने जानकारी गराएका छन् ।
फिल्मलाई भारतमा युएफओ, मधु इन्टरटेन्टमेन्टले वितरण गर्दैछ । फिल्म नेपालमा पनि असोज ७ मा प्रदर्शन हुँदैछ । निर्माण टिमले भदौ १६ मा ट्रेलर सार्वजनिक गर्ने जनाएको छ । अहिले ‘प्रेमगीत ३’ शीर्षकमै फिल्म रिलिज गर्ने घोषणा गरेको निर्माण टिमले पहिला भने ‘विश्वजितम्’ शीर्षकमा फिल्म रिलिज हुने घोषणा गरेको थियो ।
अब एउटै फिल्मलाई भारतमा एउटा नाम अनि नेपालमा अर्को भनेर प्रचार गरियो भने राम्रो नहोला भनेर फिल्मको नाम एउटै राखिएको हो,’फिल्मका निर्देशक एवं निर्माता सन्तोष सेन सुनाउँछन्,’भारतले पनि आजबाट यही नाममा फिल्मको प्रचार सुरु गरेको छ ।’
सन्तोष फिल्म ओटीटी प्लेटफर्म अमेजनमा पनि प्रदर्शनमा आउने बताउँछन् । नेपाली फिल्मलाई भारतमा प्रदर्शन गर्न पाउँदा दंग छन् सन्तोष । ‘अब हाम्रो कला भारतीय बजारमा देखिँदैछ । त्यो नै हाम्रो लागि ठूलो खुशी हो । २ वर्ष हामी मुम्बई बसेर गरेको मिहेनत देखिँदैछ,’उनले भने ।
निर्माण टिमले संवादसँगै फिल्मका गीतहरू पनि हिन्दीमा रेकर्ड गराएको छ । हिन्दी भर्सनका गीतमा अंकित तिवारी, पलक मुचाल, देव नागी, राहत फतेह अली खान र पवनदीप राजनले स्वर दिएका छन् ।
नेपालमा सुटिङ गरेर हिन्दीमा डब गरी चलाइन लागेको फिल्मलाई सन्तोष सेन र स्वर्गीय छेतेन गुरुङले निर्देशन गरेका हुन् । फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ ।
फिल्मको लगानी भारतमा प्रतिलिपि बेच्दा नै उठिसकेको थियो ।’प्रेमगीत ३’ छेतेन गुरुङको ड्रिम प्रोजेक्ट थियो । २०७७ भदौ २७ मा बितेका छेतेनले आफ्नो ड्रिम प्रोजेक्ट हेर्न पाउँने छैनन् । फिल्ममा छेतेन र निर्माता सन्तोष सेनको निर्देशन छ । अभिनेता प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठलगायतको अभिनय छ ।
‘प्रेमगीत ३’ भारतमा रिलिज हुने खबर भारतीय मिडियाले पनि कभर गरेका छन् । समीक्षक कोमल नाहाटाले ब्रेकिङ भन्दै नेपाली फिल्म भारतमा प्रदर्शन हुन लागेको बताएका छन् भने बलिउड हंगामाले सन्तोष सेन, प्रदीप खड्का र क्रिस्टिनाको भनाइसँगै समाचार लेखेको छ ।

