झापा । आगलागीबाट घर जलेर बिचल्लीमा परेकी झापा मेचीनगरकी लख्खि मर्डीले नँया घर पाएकी छन् । उनलाई मेची अभियानको पहलमा घर हस्तान्तरण गरिएको हो ।

मेचीनगर– १४ निवासी मर्डीको गत माघ १४ गते घर आगलागीका कारण जलेर नष्ट भएको थियो । उनलाई आज (शुक्रबार) अभियानका परिकल्पनाकार तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले घर हस्तान्तरण गरेका हुन् ।

विगत १० वर्ष अघि श्रीमान्ले छोडेपछि दुई छोराको पालनपोषण गर्दै आएकी एकल श्रमिक महिला मर्डीको आगलागीले घरसँगै अन्नपातसमेत जलेको थियो । मर्डी स्थानीय चिया वगानमा मजदुरी गर्दै आएकी छन् ।
मजदुरी गरी जिविकोपार्जन गर्दै आएकी उनी घर विहीन बनेसँगै मेची अभियान काँकरभिट्टाले घर निर्माण कार्यक्रम सुरु गरेको मेची अभियानका संयोजक विजय डालमियाले बताए ।

गत फागुनमा घरको शिलान्यास पनि अभियानका परिकल्पनाकार तथा नेपाली कांग्रेसका महामन्त्री शर्माले गरेका थिए । मर्डीको घर निर्माणमा शर्माले झापा पुगेर श्रमदानसमेत गरेका थिए । नेता शर्मा र उनकी श्रीमती कविता शर्माले घर निर्माणका लागि ११ हजार रुपैयाँ आर्थिक सहयोगसमेत गरेका थिए ।
घर निर्माणमा देश तथा विदेशबाट विभिन्न व्यक्तिले सहयोग गरेको अभियानका संयोजक डालमियाले बताए । डालमियाका अनुसार घर निर्माणमा ४ लाख १७ हजार ६३९ रुपैयाँ खर्च भएको छ ।
घर जलेर भाटाले बारेर बनाएको भान्सा घरमा बस्दै आएकी मर्डीलाई अभियानले नँया घर निर्माण गरी हस्तान्रण गर्दा भावविहोल बनेकी थिइन् ।
कार्यक्रममा बोल्दै महामन्त्री शर्माले सबैको पहलबाट मर्डीको घर निर्माण सम्पन्न भएको बताए । मेची अभियानले मेचीनगर कै केवल निरौलाको घर निर्माणसमेत सुरु गरिएको शर्माले बताए । निरौलाको घर पनि आगलागीबाट जलेर नष्ट भएको थियो ।
नेपाली काँग्रेसका क्षेत्रिय सभापति इन्द्रबहादुर बुढाथोकी, नगर सभापति सुवेशकुमार पनेरु, काँग्रेसका प्रदेश ख सभापति सन्तोस न्यौपाने, काँग्रेसका महाधिवेशन प्रतिनिधिहरु, स्थानीय समुदायलगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन पत्रकार ज्ञानेन्द्र निरौलाले गरेका थिए ।

