मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा राष्ट्रिय जनगणना २०७८ अनुसार कुल जनसंख्या एक लाख ३३ हजार ७३ पुगेको छ । २०६८ सालको राष्ट्रिय जनगणना अनुसार एक लाख ११ हजार ७३७ जना रहेको मेचीनगरमा २१ हजार ३३६ जनसंख्या बृद्धि हुँदै नयाँ जनगणना अनुसार एक लाख ३३ हजार ७३ पुगेको हो ।
नयाँ जनगणना अनुसार मेचीनगरमा पुरुष भन्दा महिलाको जनसंख्या बढी रहेको पाइएको छ । जस अनुसार महिला ६९ हजार ७२ (५१.९) प्रतिशत र पुरुष ६४ हजार १ (४८.१) प्रतिशत रहेको छ । मेचीनगरको वार्षिक जनसंख्या बृद्धिदर १.६८ प्रतिशत रहेको छ ।
मेचीनगरमा ३२ हजार ६ सय ९५ परिवार बसोबास गरेका छन् भने नगरको जनघनत्व ६९० रहेको छ । त्यस्तै मेचीनगरको साक्षरता ८३.३ प्रतिशत रहेकोमा महिलाका तुलनामा पुरुषको साक्षरता बढी रहेको छ । नगरको पुरुष साक्षरता ८८.५ प्रतिशत रहँदा महिलाको साक्षरता भने ७८.४ प्रतिशत मात्रै रहेको छ ।
मेचीनगरमा अझै पनि ३० प्रतिशत भन्दा बढी व्यक्तिको जन्मदर्ता नगराएको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार मेचीनगरमा ६९.५ प्रतिशतले जन्मदर्ता गराएका छन भने ३०.५ प्रतिशतले अझै जन्मदर्ता गराएका छैनन् ।
त्यस्तै नगरका २.५ प्रतिशत जनसंख्या कुनै न कुनै प्रकारको अपाङ्गता भएका छन । त्यसमा पनि सबैभन्दा बढी शारिरीक अपाङ्गता भएका व्यक्तिहरु छन् । कुल अपाङ्गता भएका व्यक्तिहरु मध्ये शारिरीक अपाङ्गता भएकाहरु मात्रै ३०.३ प्रतिशत रहेका छन । न्यून दृष्टियुक्तको संख्या २४.९ प्रतिशत रहेको छ । न्यून श्रवणशक्तिको संख्या ९.३ प्रतिशत र बहुअपाङ्गता भएकाहरु ८.६ प्रतिशत रहेका छन् ।
त्यस्तै मानसिक वा मनोसामाजिक समस्या भएकाहरुको संख्या ७.५ प्रतिशत रहेका छन् । बहिरोपन भएकाहरु ६.९ प्रतिशत रहेका छन् भने दृष्टिविहिन भएकाहरु ३.७ प्रतिशत रहेका छन् ।
मेचीनगरमा बाबु र आमासंगै बसेका वालवालिकाहरुको संख्या ७३.९ प्रतिशत रहेका छन् । आमासंगै मात्रै रहेका वालवालिकाहरुको संख्या १८.३ प्रतिशत रहेको छ भने बाबुसंग मात्रै रहेका वालवालिकाहरुको संख्या २.५ प्रतिशत रहेको पाइएको छ ।

