अनन्त प्रकाश वस्ती
धुलावारी । २०८० सालका नेपालीहरु मुख्य चाड “दशैँ र तिहार” सकिने क्रममा छन । दशैँ र तिहारलाई सन्दर्भ पारेर ठुलो वा सानो रुपमा मेला, उत्सव आयोजना भई रहेका छन । व्यक्तिगत समुह, टोल विकास संस्था, गैर सरकारी संघ संस्था र केही सरकारी निकायहरुले परम्परागतरुपमा गर्ने मौलो पुजा, फूलपाती भित्राउने कार्य, देउसीभैलो पनि सधै झैँ यस बर्ष पनि हुने नै भए । यही समाजको सदस्य भएको नाताले केही समय टोल विकास संस्थाले आयोजना गरेका दुर्गा पुजा, देउसीभैलो कार्यक्रममा सहभागी हुन पाए । अर्को तर्फ यही समयमा नै मेला उत्सव हेर्न पनि मौका मिल्यो । सामाजिक संजालको प्रयोगकर्ता भएको नाताले त्यसमा आफ्नु सहभागिता र आउने प्रतिक्रिया दुवैसगं बिदा र फुर्सदको समयमा अभ्यस्त हुने थालेकोले समय काट्ने माध्यमबाट टाढा हुने कुरै भएन । यही वीचमा “टिकटक” बन्द गर्ने सरकारको निर्णयको पक्ष, विपक्षको पक्षधरतामा आ–आफ्नै दृष्टिकोण पुष्टाइ गर्न तातेको सामाजिक संजालको बजार र सिनेमाहलमा चलिरहेको फिल्म “दिमाग खराव” हेर्दा तथा चलचित्र हेरी सकेपछि आएको दर्शकको प्रतिक्रियाले पनि समकालीन नेपाली समाजको सामाजिक, सास्कृतिक र आर्थिक बिषय बुझ्न सहयोग नै गरे । यी सवै सन्दर्भसँग जोडिएर अध्ययन गर्ने हो भने धेरै बिषयमा बोल्न सकिएला वा लेख्न सकिएला । तर आज हाम्रो समाजमा हुर्केर जवान हुँदै गरेको “उपभोक्तावादी संस्कृति र चिन्तन” का विषयमा मात्र भलाकुसारी गर्दा ठिक होला कि जस्तो लागेको छ ।

हाम्रा वीचमा हामीले उपयोग गर्दै आएका माथी उल्लिखित संस्कृतिको विकास कसरी भयो ? सामान्यतया मानिसद्वारा श्रम प्रक्रियाका वीचबाट प्रकृतिमाथी विजय प्राप्त गर्दै उत्पादन तथा कलामुलक गतिविधिहरुलाई अगाडी बढाउने प्रक्रियामा संस्कृतिको जन्म हुन्छ । यस संस्कृति भित्र “ भौतिक संस्कृति – उत्पादनका औजार, प्रविधि, उपभोगका सामाग्री हुन भने आत्मिक संस्कृति – विचार, चेतना, दर्शन, आस्था, कला, विज्ञान” हुन्छन । तर समाजको विकासको स्तरसगै संस्कृतिको स्तर पनि विकास हुने गर्दछ । त्यसैले संस्कृति एक सार्वभौम सामाजिक अवधारणा हो भनिन्छ । अर्का तर्फ संस्कृति उत्पादक शक्ति र उत्पादन सम्बन्ध तथा आधार र उपरी संरचनाका वीच द्वन्द्वात्मक एकत्वको ज्ञानबाट विकसित हुन्छ । उत्पादनको स्वरूप आधार संरचना हो भने संस्कृति उपरी संरचना हो ।
अब लागौ – “उपभोक्ताबादी संस्कृति र चिन्तन” बिषयको भलाकुसारी तर्फ । हामीले संविधानले “ समाजवादउन्मुख” अर्थतन्त्र भने पनि हाम्रो अर्थ नीतिले त्यस तर्फको बाटो लिएको अनुभूति आम मानिसले गर्न सकिरहेका छैनन । त्यसले हाम्रो अर्थनीतिले पूंजीबाद कै पक्षपोषण गरिरहेकै छ भन्दा बेठिक नहोला कि ? पूंजीबादले सृजना गरेको संस्कृति कस्तो हुन्छ होला ? सोच्नुस त ! हो यो पक्कै – “ उपभोक्तावादी” हुन्छ । त्यसले पूंजीबाद विश्वव्यापी भएको छ । अझ यसलाई शुक्ष्मरुपमा हेर्दा उत्तर आधुनिकतावादीको भूमण्डलीकरणको प्रभावबाट कसैलाई अछुतो बस्न दिएको छैन – अर्थात संस्कृतिको क्षेत्रलाई पनि । यसैले पछिल्लो समय “राष्ट्रवादोत्तर वैश्र्विकता, उत्तर औपनिवेशिकता, उत्तर संरचनावादी वा उत्तर मार्क्सबादी” जस्ता चिन्तकहरूले संस्कृति सम्बन्धि नयाँ विचारहरु पस्कदै गएका छन । मानिसका लागि वस्तुको उपभोगका आयामहरु हरेक निमेष फेरिदै जानु पर्ने वैयक्तिक चिन्तनहरुले हामी माझ नराम्रोसंग अड्डा जमाइ सकेका वा जमाई रहेका छन । पूंजीबादले संस्कृतिको आफ्नु अनुकुलको रुपान्तरणका लागि हदैसम्मको प्रविधिको विकास गरिरहेको छ, जसको उदाहरण हो – “टिकटक” अनि छन त्यस प्रतिको हाम्रा आ–आफ्ना दृष्टिकोण र बुझाईहरु ।” तर बुझ्नु पर्ने कुरा के हो जस्तो लाग्छ भने – “टिकटक पूंजीबादी संस्कृतिले उत्पादन गरेको एउटा साधन मात्र हो ।” त्यसले यसको बिषयमा तनाव लिन आवश्यक छैन किनकी पूंजीबादमा तनाव व्यवस्थापन असम्भव कुरा हो । व्यक्तिबादी समाज र पूंजीबाद स्वयं तनाव निर्माणका कारखानाहरु हुन । पूंजीबाद स्वयं तनाव हो । यति लेखि रहदा फेरी कन्फुसियसको भनाई चै पक्कै सम्झन मन लाग्यो –“ छिमेकीको छानाको फोहोरको बारेमा टिप्पणी नगर, जबकी तिम्रो घरको मूलद्वार नै सफा छैन भने ।” किनकी टिकटकको प्रयोगकर्ता हामी, आफै पो अनियन्त्रित भयौ कि ? त्यसैले होला, भोलीका लागी कसैले चिन्तन गरेको देखिन्न, सवैलाई अहिले यति खेरै नै हरेक सेवा, वस्तु र नगद उपलव्धी चाहिएको छ, तत्काल बजारमा उपलव्ध सवै बस्तु उपभोग वा प्रयोग गरी हाल्नु पर्नेछ, मानौ एकदम हतार छ । यसैलाई भनिन्छ –“उपभोक्ताबादी संस्कृति र चिन्तन” ।
सामान्य घर परिवार व्यवस्थापनका लागि आवश्यक पर्ने वस्तुको उत्पादन गर्न नसक्ने तथा किनमेलका लागि सामान्य बजार धान्न नसक्ने हाम्रो आर्थिक पृष्ठभूमी – एक पटक गम्भीर भएर सोचौ त । अनि हामी बिस्तारै फस्दैछौ वा लोभिदै छौ – डिजे संस्कृति, पार्लर संस्कृति, कन्सर्ट संस्कृति अनि भव्य जन्मोत्सव, विवाह उत्सव, हाउजिंग र अपार्टमेन्टको संस्कृति भित्र । पुँजीवादी मूल्यमा आधारित देखासिकीमा गरिने उत्सव र खरिदारी तथा रवाफले समाजलाई गलत चिन्तन प्रणालीको भड्कावमा फसाईदिएको छ – जहाँ गरिएको लगानीबाट उत्पादन हुँदैन । उपभोक्तावादले जतिसुकै राम्रा र सुकिला सपनाहरु बाँडे पनि शारीरिक श्रम र इमान्दार बौद्धिक श्रम गरेर खानेहरु दिनहुँ समस्याग्रस्त बन्दै गएका छन । अझ कर्पोरेट पुँजीबादले भयानक शोषण गरेर निचोर्नसम्म निचोरिरहेको छ, जसका कारणले हामीमा दिन प्रतिदिन निराशा बढ्दो छ । त्यसैले त सिनेमा हलमा गएका दर्शकहरुले “दिमाग खराब” चलचित्रका मुख्य अभिनेताका शब्दहरुमा ताली पिटिरहन्छन । उमेर पुगेका लामो समय राजनीतिक जीवन बिताएका नेताहरु नयाँ यूवा पुस्तालाई भन्न सकिरहेका छैनन – “देश बनाउन त उमेर होइन दृढ इच्छा शक्ति भएको, नविन दृष्टिकोण वोक्ने, विचारमा यूवापन र यूवामन भएको व्यक्ति चाहिन्छ ।” अर्का तर्फ पूंजीबादले विकास गरेको यिनै “सांस्कृतिक स्वरूप” को संरक्षण गर्न सांस्कृतिक साम्राज्यवादको वैचारिक प्रतिनिधिका रुपमा उत्तर आधुनिकबादले संस्कृतिक वर्ण संकरता, उपभोक्तावाद र विघटित मुल्य चेतनालाई प्रश्रय दिइरहेको छ । जसलाई हामीले बुझ्न ढिलो गरिरहेका छौ ।
पूंजीबादले यति मात्र गरेको छैन, उसले त संस्कृतिको मान्यता नै फरक बनाई दिएको छ । साभ्रांत र उच्च बर्गका व्यक्तिहरुले अवलम्बन गरेको “उच्च संस्कृति” र तल्लो वर्गका मानिसहरुले अवलम्बन गरेको “भीड संस्कृति” । यो संस्कृतिको विभाजन उपभोक्तावादी मान्यतामा आधारित छ । किन भीड संस्कृतिको विकास गरिएको हो, एक पटक सोच्नुस त – हो ! फसाउन । तर हामी बुझ्दैनौ वा बुझ्न खोजिरहेका छैनौ किनकी अहिले पूंजीबादले हाम्रो सोच्ने तरिका नै चौपट बनाइदिएको छ । जो गल्ति गर्दछ, उ आफु बाहेक अरु सवैलाई दोषी ठान्दछ । त्यसैले त मनोवैज्ञानिक हान्स सेल्थेले भनेका छन – “हामी समर्थनका लागि जति व्याकुल छौ, त्यति नै तिरस्कारलाई रुचाउदैनौ ।” यो उपभोक्तावादी चिन्तनले विकास गरेको मान्यता हो ।
अव अन्त्य गर्ने तर्फ लागौं ! अनेकन पटकको राजनैतिक आन्दोलन गर्दै नेपाली समाज अहिले लोकतन्त्रको अभ्यास गरिरहेको छ । लोकतन्त्र भनेको राजनैतिक परिवर्तन र रुपान्तरणको प्रक्रिया मात्र हैन जस्तो लाग्छ । त्यही भएर होला अमार्त्य सेनले भनेका छन – “स्वतन्त्रता राजनैतिक मात्र नभएर सामाजिक, सांस्कृतिक र आर्थिक पनि हुने गर्दछ । समाजमा व्याप्त परम्परागत मान्यताले मानिसलाई यी स्वतन्त्रता उपयोग गर्न वाधा सृजना गरिराखेको हुन्छ ।” यस्ता थुप्रै समस्याबाट ग्रस्त छ नेपाली समाज – व्यवहारवाद, वर्ग समन्वयबाद, द्वेतवाद, विशुद्धतावाद, सुधारवाद अनि सवैभन्दा बढी व्यक्तिवाद र नातावाद । यी देखिएका थुप्रै समस्या र गलत चिन्तनलाई परास्त गर्दै नेपाली समाजको सांस्कृतिक रुपान्तरण गर्न जरुरी छ । हुनत सांस्कृतिक रुपान्तरणको प्रक्रिया विभिन्न प्रकारका संघर्ष र नयाँ सांस्कृतिक मुल्यवोधका वीचबाट हुने गर्दछ । तर नेपालको सन्दर्भमा सचेततापुर्वक राजनैतिक तथा आर्थिक रुपान्तरणको प्रक्रियामाथी ध्यान दिदै आफ्नै विशिष्टतामा आधारित सांस्कृतिक रुपान्तरणको प्रक्रियामा जोड दिन आवश्यक छ । समयमा नै हामीले बुझ्न सकेनौ भने र यही गतिका साथ अघि बढी रह्यो भने – “उपभोक्ताबादी संस्कृतिले नेपाली समाज र देशलाई फुत्किन नसकिने गरी चाडै बन्धक बनाउनेछ ।” सत्यम शिवम सुन्दरम । अस्तु ।