खेलकुद

झापा लिग : मेचीनगर र बुद्धशान्ति विजयी

झापा । भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा मेचीनगर नगरपालिकाले शुखद् सुरुवात गरेको छ । मेचीनगरले आज भद्रपुर नगरपालिकालाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

मेचीनगरको जितका लागि अजय राजवंशीले खेल सुरु भएको दोस्रो मिनेटमा नै गोल गरेका थिए । अत्यन्तै प्रतिष्पर्धात्मक बनेको खेलमा अजयको गोल नै भद्रपुरलाई पराजित गर्न काफि रह्यो । खेलमा भद्रपुरले पाएका थुप्रै अवसरहरु मेचीनगरका गोल किपरले विफल बनाई दिए । जसका कारण आक्रमक खेले पनि नतिजा भद्रपुरले आफ्नो पक्षमा बनाउन बिफल बन्यो ।

खेलको प्लेयर अफ दि म्याच मेचीनगरका सिमान्त थापा भए । उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, मेचीनगरका नगरप्रमुख गोपादचन्द्र बुढाथोकी, उपप्रमुख मिना पोखरेल, सौजन्यकर्ता झापा उद्योग वाणिज्य संघका अध्यक्ष प्रज्ज्वल राईले नगद दुई हजार र ट्रफी प्रदान गरे ।

त्यस्तै आज नै भएको पहिलो खेलमा हल्दिबारी गाउँपालिकालाई ५–० गोल अन्तरले हराउँदै बुद्धशान्ति गाउँपालिका विजयी बन्यो । बबिन बोहोराको ४ गोल मद्दतमा बुद्धशान्ति गाउँपालिकाले शानदार जित दर्ता गरेको थियो । खेलको २५ औँ, ६४ औँ, ६९ औँ र ७२ औँ मिनेटमा बुद्धशान्तिका बबिन बोहोराले गोल गरे । बबिन जारी प्रतियोगितामा ह्याट्रिक गर्ने पहिलो खेलाडी बने । त्यस्तै, खेलको ४५ औँ मिनेटमा पारस लिम्बूले अर्को गोल गरे ।

खेलको प्लेयर अफ दि म्याच बुद्धशान्तिका बबिन बोहोरा भए । उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य सरिता प्रसाईं, प्रमुख सल्लाहकार टिकाराज ढकाल, सौजन्यकर्ता लोकबन्धु ढुंगानाले नगद दुई हजार र ट्रफी प्रदान गरे ।

भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा भएको खेलमा जितसँगै मेचीनगर र बुद्धशान्तिले तीनतीन अंक जोडेका छन् ।

फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगितमा झापाका १४ वटा पालिका र आयोजकको भद्रपुर ब्लेजर्स टिम गरी प्रतियोगितामा १५ वटा टिमले प्रतिस्पर्धा गर्दै छन् । १८ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको फाइनल खेल मंसिर २४ गते हुने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

खेल तालिकाअनुसार समूह ‘क’ मा हल्दिबारी, बिर्तामोड र बुद्धशान्ति रहेका छन् । समूह ‘ख’ मा कनकाई, भद्रपुर ब्लेजर्स, झापा र गौरादह, समूह ‘ग’ मा कचनकवल, बाह्रदशी, मेचीनगर र भद्रपुर तथा समूह ‘घ’ मा कमल, दमक, शिवसताक्षी र अर्जुनधारा रहेका छन् ।

प्रत्येक समूहका विजेता र उपविजेता आठवटा टिम नकआउट चरणमा प्रवेश गर्ने छन् । नकआउट चरणका खेलहरु क्वार्टर फाइनलबाट सुरु हुनेछन् । क्वार्टर फाइनलका खेल मंसिर १९ र २० गते हुने छन् । सेमिफाइनलका खेल मंसिर २२ गते हुने छन् ।

प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २ हजार रुपैयाँ पाउने छन् । त्यस्तै, उत्कृष्ट गोल किप्पर, उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र उदीयमान खेलाडीले नगद ५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने छन् । प्रतियोगिता सम्पन्न गर्न ८० लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ ।