धर्म संस्कृती संघ \संस्था

“मनसा नागदेवी ४९ धारा” : नाग पञ्चमीको अवसरमा धार्मिक महोत्सव

मेचीनगर । पूर्वको नयाँ धार्मिक तथा पर्यटकिय स्थलको रूपमा परिचित “मनसा नागदेवी ४९ धारा तथा हिले सिमसार क्षेत्र” धार्मिक तथा पर्यटकीय स्थलमा नाग पञ्चमीको अवसरमा धार्मिक महोत्सव सञ्चालन गरिएको छ । साउन २३ गतेदेखि नाग पञ्चमीसम्म तीन दिन सञ्चालित उक्त महोत्सवमा झापाको मेचीनगरसहित छिमेकी मुलुक भारतको दार्जिलिङलगायतका स्थानबाट समेत उल्लेख्य रुपमा धार्मिक पर्यटकहरु आएका छन् ।

मेचीनगर नगरपालिकामा १ स्थित देवीगञ्जामा रहेको यस मनसा नागदेवी ४९ धारा तथा हिले सिमसार क्षेत्रको विकास र प्रबर्द्धनमा स्थानीय जुटेसंगै अहिले विभिन्न धार्मिक तथा साँस्कृतिक कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । जसले गर्दा पछिल्लो समय यस क्षेत्र आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेको हो ।

पूर्वपश्चिम राजमार्गदेखि करिब १३ किलोमिटर उत्तर मेचीनगरको ग्रामीण भेगमा रहेको यस ऐतिहासिक क्षेत्रलाई धार्मिक तथा पर्यटकीय स्थल बनाउन स्थानीयबासी एकजुट भई कम्मर कसेर लागि परिरहेका छन् ।

प्रचुर सम्भावना भएर पनि विविध कारणले ओझेलमा पर्दै आएको साबिक बाहुण्डाँगी गाविस क्षेत्रको यस मनसा नागदेवी ४९ धारा तथा हिले सिमसार क्षेत्रलाई व्यवस्थित बनाउँन स्थानीय र सरोकारवालाहरुले पनि चासो दिदैं यसको सम्बद्र्धन र प्रवद्र्धनमा जुट्न थालेसंगै पछिल्लो समय यस क्षेत्रले कोल्टे फेर्दै नयाँ धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा स्थापित बन्दै गइरहेको छ ।

मनसा नागदेवीको बासस्थान धार्मीक आस्ताको केन्द्रको रुपमा रहेको यस क्षेत्रलाई स्थानीय स्तरबाट प्रवद्र्धन गर्नुपर्छ भन्ने उदेश्यले आफुहरु लागि परिरहेको स्थानीय डिकेन्द्रकुमार थापा बताउँछन् ।

ओझेलमा रहेको आफ्नो ठाँउलाई स्तरोन्नती गर्दै चर्चित धार्मिक तथा पर्यटकिय स्थल बनाउन सकियो भने यस क्षेत्रको आर्थिक, सामाजिक र धार्मिक क्षेत्रमा उल्लेख्य उपलब्धी हुने विश्वासका साथ यसको प्रवर्द्धनमा समिति नै बनाएर आफुहरू लागि परिरहेको मनसा नागदेवी ४९ धारा तथा हिले सिमसार क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र मल्ल बताउँछन् ।

नेपाल–भारत सिमानादेखि करिब एक किलो मिटरको दुरीमा रहेको छ मनसा नागदेवी ४९ धारा तथा हिले सिमसार क्षेत्र । सुन्दर शान्त, रमणीय र हरियाली वातावरणमा अवस्थित यस क्षेत्रमा नेपालको पूर्वी क्षेत्रसंगै छिमेकी राष्ट्र भारतका विभिन्न स्थानबाट समेत पर्यटकहरु आउने सम्भावना प्रब्बल रहेको स्थानीय जनप्रतिनिधिहरुको भनाई छ ।

स्थानीय सरकारले निर्माणको सुरुवाती चरणदेखि नै सहयोग गर्दै आएको बताउँदै मेचीनगरकी उपप्रमुख मीना पोख्रेल उप्रेतीले आगामी दिनमा समेत यस क्षेत्रको श्रीबृद्धीमा सिंगो नगरपालिका लागि पर्ने बताउँछिन् ।

मेची नदीको किनार छेउमा सुन्दर बनेर सजिएको सँधै निश्चल पानी बगिरहने ४९ धारा र मनसा नागदेवीको मन्दिर यस क्षेत्रको मुख्य आकर्षण हुन् । यी र यस्ता क्षेत्रलाई तीनै तहका सरकारले उचित संरक्षण र प्रवद्र्धन गर्नुपर्ने आवश्यकता देखिन्छ ।