बुद्धशान्ती । ‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने मूल मन्त्रलाई चरितार्थ गर्दै वीरता लेडी जेसीजले साेमबार बुद्धशान्ति गाउँपालिका-४ मा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
शिविरबाट ३०० भन्दाबढी स्थानीय बासिन्दाले विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गरी लाभान्वित भएका छन् । शिविरको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईले स्वस्थ नागरिक नै समृद्ध राष्ट्रको आधार भएको बताउनु भयो ।

उहाँले वीरता लेडी जेसीज जस्ता सामाजिक संस्थाले नागरिकको स्वास्थ्यप्रति देखाएको संवेदनशीलता र सक्रियताको प्रशंसा गर्दै यस्ता कार्यमा गाउँपालिकाको सधैँ साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा बोल्दै वीरता लेडी जेसीजकी अध्यक्ष निशा शाक्यले विभिन्न सामाजिक तथा आर्थिक कारणले आधारभूत स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गरी शिविर आयोजना गरिएको बताउनु भयो ।
‘स्वस्थ समाज, समृद्ध राष्ट्र’ को अभियानलाई साकार पार्न यो शिविर एक सानो पाइला भएको उहाँको भनाइ थियो ।शिविरमा बीएण्डसी टिचिङ अस्पताल, पूर्वाञ्चल क्यान्सर अस्पताल र बिर्ता आई केयर प्रा. लि. को प्राविधिक सहयोग रहेको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि बुद्धशान्ति-४ का वडाध्यक्ष शेरबहादुर राय तथा बीएण्डसी मेडिकल कलेजका म्यानेजमेन्ट डाइरेक्टर खाेम घिमिरेले शुभकामना मन्तव्य राख्दै यस्ता परोपकारी कार्यले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने बताउनु भयो।
जेसी पार्वती श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा निवर्तमान अध्यक्ष जेसी मेनुका ओलीले कार्यक्रममाथि प्रकाश पार्नु भएको थियो ।
कार्यकारिणी उपाध्यक्ष जेसी मुना ढुंगेल र उपाध्यक्ष जेसी भावना बस्नेतले क्रमशः आस्था र मिसन-भिजन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमलाई महासचिव जेसी प्रभा रायाले सञ्चालन गर्नुभएको थियो ।