संघ \संस्था स्वास्थ्य

इटाभट्टा–भृकुटी सिटी सफारी समूह र ओमसाई पाथिभरा अस्पतालबीच उपचारसम्बन्धी सम्झौता

झापा । इटाभट्टा–भृकुटी सिटी सफारी समूह र भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालबीच आज औपचारिक रूपमा उपचारसम्बन्धी सम्झौता सम्पन्न भएको छ । स्थानीयस्तरमै पहिलोपटक सिटी सफारी समूहले अस्पतालसँग स्वास्थ्य सेवा सम्बन्धी सम्झौता गरेर नयाँ पहल सुरु गरेको हो ।

सम्झौतामा सिटी सफारी समूहको तर्फबाट अध्यक्ष राजु तामाङ र ओमसाई पाथिभरा अस्पतालको तर्फबाट निर्देशक बालकुमार पोखरेलले हस्ताक्षर गर्नुभएको थियो । कार्यक्रममा दुबै संस्थाका पदाधिकारी, मेचीनगर ८ का वडासदस्य बिष्णु भट्टराई, नेकपा एमाले मेचीनगर ८ का अध्यक्ष मिलन विश्वकर्मालगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

सम्झौता अनुसार सिटी सफारी समूहमा आवद्ध सदस्य र उनीहरूका परिवार तथा यात्रु दुर्घटना परे ओमसाई पाथिभरा अस्पतालमा स्वास्थ्य उपचारमा विशेष सुविधा र छुट पाउनेछन् । यस कदमले समूहमा आवद्ध सदस्यहरूको स्वास्थ्य सुरक्षामा सहजता ल्याउने विश्वास व्यक्त गरिएको छ ।

अध्यक्ष तामाङले समूहका सदस्यहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै अस्पतालसँग सम्झौता गरिएको बताउँदै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याइने जानकारी दिनुभयो । सोही अवसरमा अस्पतालका निर्देशक पोखरेलले स्थानीयस्तरमै यस्तो सहकार्यले स्वास्थ्य सेवाप्रति जनविश्वास बढ्ने र समुदायलाई गुणस्तरीय सेवा दिन अस्पताल सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जिल्लामा संस्थागत रूपमा सिटी सफारी सामुहिक रूपमा पहिलोपटक भएको यस किसिमको सम्झौताले अन्य संघ–संस्था र अस्पतालबीच पनि सहकार्य गर्ने मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ । समुदायको स्वास्थ्यलाई प्राथमिकतामा राखेर अघि बढेको यो पहललाई सहभागीहरूले ऐतिहासिक कदमको रूपमा लिएका छन् ।