अर्थ

झापा : अण्डा, चल्ला निर्यात गर्न नपाउँदा किसान मारमा

बिर्तामोड । झापाको दमकमा बर्डफ्लू देखिएपछि दुई सातादेखि व्यवसायीहरुले कुखुरा, चल्ला र अण्डा निर्यात गर्न पाएका छैनन् । दुई साताका लागि निर्यात बन्द गरिए पनि अझैसम्म खुल्ला नभएको व्यवसायीहरुले गुनासो गरे ।

चैत २३ गते १५ दिन भइसकेको छ । व्यवसायीहरुले अझै पनि व्यवसायका लागि निर्यात खुल्ला नभएको बताएका छन् । बर्डफ्लू देखिएपछि सुरक्षाका लागि यहाँका चल्ला, अण्डा निर्यातमा प्रतिबन्ध लगाएको बोइलर कुखुरा व्यवसायी संघ झापाका अध्यक्ष विवेक निरौलाले जानकारी दिए । उनका अनुसार १५ दिनपछि खुल्ला गर्ने भनिए पनि औपचारिक रुपमा जानकारी आएको छैन ।

अध्यक्ष निरौलाले प्रशासनले कोशी प्रदेशबाट चल्ला, अण्डा बाहिर लैजान नदिने निर्णय गरेको बताए । बाहिरका व्यवसायीहरुले कोशी प्रदेशमा चल्ला, अण्डा ल्याइरहेका छन्, उनले भने – यहाँबाट बाहिर लैजान मात्रै नमिल्ने, भित्राउन मात्र मिल्ने अचम्म भइरहेको छ । अव्यवहारिक निर्णयले किसान मारमा परेका छन् ।

कोशी प्रदेशका व्यवसायीहरुले यहाँको उत्पादन बाहिर लैजाँदा संक्रमण फैलिन सक्ने भन्दै सो निर्णय गरिएको थियो । यहाँका व्यवसायी भन्छन्, व्यापारका लागि गाडि लिएर आउनेहरुले आफै पनि संक्रमण लिएर जान सक्छन्, त्यसरी पनि सुरक्षित हुदैन, निरौलाले थपे ।

बर्डफ्लू लागेपछि संसारभर खोर र वरपर शिल गर्ने व्यवस्था भएको व्यवसायीहरु बताउँछन् । यहाँ मुख्य राजमार्गमा नै हिड्न नमिल्ने नियमले व्यवसायीहरु मारमा परेको उनीहरुको धारणा छ । व्यवसायीहरुले निरोगिताको प्रमाणका आधारमा व्यापार गर्न पाउनुपर्ने बताए । बाटो नै बन्द भएपछि करोडौंको चल्ला, अण्डामा क्षति भइरहेको व्यवसायीहरुले जानकारी दिएका छन् ।

झापामा ५० भन्दा बढी व्यवसायीहरुले लेयर्स र करिव ८ सय किसानले ब्रोइलर पालना गरिरहेको बुझिएको छ ।